झापा, जेठ ७ । धाराको पानीमा खराबी नभएर मास हिस्टेरियाका कारण मिनी माउन्टेन इङलिस सेकेण्डरी बोर्डिङ स्कुल बाह्रदशीका विद्यार्थीहरु विरामी परेको चिकित्सकले बताएका छन् ।

आज दिउँसो २ बजे बाह्रदशी गाउँपालिका वडा न.६ स्थित मिनी माउन्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोही बिद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर १७ जना सिकिस्त भएका थिए ।
बिरामी विद्यार्थीहरुलाई बिद्यालयका शिक्षकहरुले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराएको प्रहरीले जनाएको छ । विरामी हुने विद्यार्थीहरु कक्षा ४ र ५ का हुन् । उनीहरु सबै निको भई डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनले धाराको पानी खाँदा विरामी हुनुपर्ने कारणबारे अनुसन्धान भइरहेको बताए । विद्यालयको त्यस धाराको पानी विज्ञद्वारा परीक्षण गरिने उनले जानकारी दिए ।
विद्यालयका संचालक खगेन्द्र सुवेदीले पहिला ३–४ जनाले धाराको पानी खाएर भुँडी दुख्यो भनेर लडीबडी गरेको बताए । त्यसपछि उनीहरुका अरु साथीहरुले पनि त्यसरी नै भुँडी दुख्यो भनेर रुन कराउन थालेका थिए । विरामी भएका सबै विद्यार्थीहरुलाई अस्पताल लगेर निको पारेर ल्याइएको उनले जानकारी दिए । धाराको पानीमा खराबी नभएर विरामी विद्यार्थीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको संचालक सुवेदीले बताए ।
बिर्तासिटी हस्पिटलका चिकित्सक डा. रमेश यादवले विद्यार्थीहरुमा मास हिस्टेरियाको लक्षण देखिएको जानकारी दिए। उनले धाराको पानी पनि परीक्षण गर्न आवश्यक रहेको बताए ।‘ धाराको पानीमा समस्या नदेखिएको खण्डमा मनोवैज्ञानिक रुपमा विद्यार्थीहरु सामूहिक विरामी हुन सक्छन् ’ उनले भने ।