झापा, जेठ ८ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाले १८ औं स्थापना दिवस मनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको प्रमुख आतिथ्यमा बिहीवार गण परिसरभित्र स्थापना दिवस मनाइएको हो ।
समारोहमा प्रमुख अतिथि लगायत अन्य बिशिष्ट अतिथिहरुले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सो अवसरमा कर्तब्य पालनाको सिलसिलामा दिवंगत भएका स्व. सोमबहादुर तामाङको परिवारलाई बिशेष सम्मानसहित ५१ हजार नगद प्रदान गरिएको थियो ।
त्यस्तै, प्रमुख अतिथि लगायत अन्य बिशिष्ट अतिथिहरुबाट बैशाख महिनामा उत्कृष्ट हुने मासिक जवान लगायत अन्य क्रियाकलाप तथा खेल बिधामा प्रथम हुने कमर्चारीहरुलाई सम्मानका साथै प्रशंसापत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा बोल्दै प्रमुख अतिथि बाहिनीपति न्यौपानेले सशस्त्र प्रहरी बल नेपालले जुनसुकै अवस्थामा आइपरेका कठिनाइ र चुनौतीपूर्ण परिस्थितिमा समेत कुशलतापूवर्क जिम्मेवारी निर्वाह गरेको बताए। सीमा सुरक्षा र अवैध गतिविधि रोकथामका लागि सशस्त्र प्रहरी बल नेपालको विशेष योगदान रहेको उनले बताए।
उनले संगठन विस्तार गर्न थप जनशक्तिको व्यवस्थापनसहित बोर्डर आउट पोस्ट समेत थप गर्न पहल गरिनुपर्ने र सशस्त्र प्रहरीको क्षमता वृद्धि, प्रविधिको विस्तार, जनशक्तिको व्यवस्थापन र सुविधामा आफू सदैव प्रतिबद्ध रहेको बताए।
बिपद्का समयमा होस् या बिपद् पूर्वतयारी जुनसुकै अवस्थामा पनि सशस्त्र प्रहरी बल, नेपालको परिचालन चुस्त हुनुका साथै अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको र समुदाय स्तरमा डिजास्टर भोलेन्टियर तथा समुदाय बिपद् सूचक तयार गर्न स्थानीय पालिकाहरुलाई समेत सहयोगका लागि अपिल गरेका छन् । हाल सशस्त्र प्रहरी बल, नेपालले “सीमाबासीसंग सशस्त्र प्रहरी“ कार्यक्रमको अवधारणाअनुरुप बिभिन्न सीमाबासी लक्षित कार्यक्रमहरु कार्यहरु संचालन गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले “सीमाबासीसंग सशस्त्र प्रहरी“ कार्यक्रमको अवधारणाअनुरुप झापा जिल्लास्थित ४ स्थानमा खानेपानी व्यवस्थापन, धार्मिक तथा पर्यटकीय स्थलमा सरसफाई तथा सरसफाईजन्य सामग्री बितरण, सीमाबासी लक्षित २० जना स्थानीय युवाहरुलाई सीपमूलक (ईलेक्ट्रिसियन) तालिम संचालन गरेको बताए ।
उनले सीमा इलाकामा बसोबास गर्ने अति बिपन्न परिवारकी बुवा आमा समेत गुमाएकी गौरीया प्रा.वि.मा अध्ययनरत १० वर्षीया छात्रा रानी ऋषिदेवलाई नेपाल एपिएफ स्कुल सप्तरीमा कक्षा १२ सम्म अध्ययन छात्रावृति प्रदान गरिएको जानकारी दिए । मेचीनगर र गौरीगंजमा गरी २ स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिसकेको र यस्ता कार्यक्रमहरु अझ प्रभावकारी ढंगबाट गर्दै जाने उनले प्रतिवद्धता व्यक्त गरे ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे. क्वा. झापाले चालु आर्थिक वर्ष २०८१÷०८२ को श्रावण १ गतेबाट जेष्ठ ७ गतेसम्म १० करोड ८० लाख ६४ हजार ६ सय ६४ रुपैया बराबरको अवैध सामान बरामद गरी सम्बन्धित निकायहरुमा दाखिला गरिसकेको समेत भण्डारीले जानकारी दिएका छन् ।