झापा, जेठ ८ । जैविक विविधतामा दक्षिण एसियाकै धनी जलथल वनमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ ।

जलथलमा रहेका सामुदायिक वनका उपभोक्ताहरुलाई चौकी विरान सामुदायिक वनमा भेला गराई जैविक विविधता दिवस मनाइएको हो । त्यस अवसरमा अन्तक्रिया तथा पुरस्कार वितरण कार्यक्रम गरिएको थियो ।

फरेष्ट एक्सन नेपाल,सामुदायिक वन उपभोक्ता महासंघ झापा , डिभिजन वन कार्यालय झापा र चौकीविरान सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता चौकीविरान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरप्रसाद मेन्याङ्वोको रहेको थियो ।

हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठ, हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानवहादुर वन (महेन्द्र), वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा , सामुदायिक वन उपभोक्ता महासंघ झापाका उपाध्यक्ष चन्द्र तामाङ, प्रदेश महासंघका न्यायिक समिति संयोजक घनश्याम खनाल,सव डिभिजन कार्यालय जलथल प्रमुख कुलप्रसाद भट्टराई लगायतको आतिथ्यता रहेको थियो।
जलथल क्षेत्रका २० वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा लिलानाथ शर्माले जलथल वनको जैविक विविधता, यसको संरक्षण र चुनौतीबारे जानकारी गराएका थिए।

जलथल वन भौगोलिक, वानस्पतिक विविधतालगायतले तराईका अन्य वनभन्दा पृथक रहेको छ।
कार्यक्रममा जलथल वन क्षेत्रका विषयहरू समेटिएर गरिएको अनलाइन प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएर बिजेता हुने १३ जनालाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दीबारीको प्राकृतिक सम्पत्ति जलथल वनको संरक्षण र प्रचार प्रसारमा गाउँपालिका सधै साथमा रहेको धारणा राखे । उनले वनबाट काठ काट्ने मात्र नभई अन्य आयआर्जनको स्रोत खोज्नु पर्ने बताए।

यसैगरी डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले जैविक विविधताले धनी यो वनको संरक्षण सबैले गर्नुपर्नेमा जोड दिए ।यस्तै महासंघका उपाध्यक्ष तामाङले सामुदायिक वनहरुको समस्या समाधानमा महासंघ साथमा रहने प्रतिबद्धता जनाए । सन्तलाल मेचेले स्वागत गरेको कार्यक्रम देवीका अधिकारीले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्