भद्रपुर, जेठ ८ । मृत्युपछिकोे दाहसंस्कार स्थलमा समेत राजनीति गर्ने प्रवृत्ति देखिँदा भद्रपुर १० चन्द्रगढ उत्तर देउनिया खोलामा थालिएको मोक्षघाटको निर्माण कार्य अलपत्र परेको छ ।

नेकपा एमाले सम्बद्ध केही व्यक्तिहरूले चन्द्रगढी सामुदायिक वन समूहको अगुवाइमा निर्माण थालेको चन्द्रगढ मोक्षघाट निर्माणमा अवरोध गरेपछि अलपत्र परेको हो ।
मोक्षघाट निर्माणस्थल सुन्दर निचाझोडा सामुदायिक वन समूह विर्तामोड ७ को क्षेत्रमा परेको भन्दै एक समूहले मोक्षघाट शिलान्यास कार्यमा अवरोध गरेको थियो ।
त्यसपछि निर्माण समितिले पटक पटक वार्ताका लागि बोलाएपछि नेकपा एमाले विर्तामोड नगर अध्यक्ष सुवास भट्टराई र नेता देवराज कार्कीले समस्या हल गर्न जेठ ७ गते सर्वपक्षीय भेला बोलाउन निर्देशन दिएका थिए । तर सो भेलामा नगर अध्यक्ष भट्टराई र नेता कार्की नआएपछि मोक्षघाट अलपत्र बनेको निर्माण समितिका संयोजक गोपालबहादुर थापाले जानकारी दिए ।
सो भेलामा सरोकार क्षेत्रअन्तर्गत भद्रपुरबाट चन्द्रगढी वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नेकपा एमाले भद्रपुर अध्यक्ष निर्माणकुमार नेपाल, नेपाली कांग्रेसका प्रतिनिधि ज्ञानबहादुर चौहान, भद्रपुर १० का वडा सदस्य तुलसी पोखरेल, स्थानीय सरोकारवाला अम्बरबहादुर कार्की, चुडामणि मैनाली, खिलनाथ भट्टराई, मोक्षघाट दर्ता व्यवस्थापन संयोजक पुरूषोत्तम अधिकारी, निर्माण संयोजक गोलबहादुर थापालगायतको उपस्थिति रहेको थियो । काममा अबरोध गर्ने समूह अनुपस्थित हुँदा छलफल निश्कर्षविहीन बनेको छ ।
चन्द्रगढी सामुदायिक वन समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत वि.सं २०८० सालबाट गुरूयोजना बनाएर भद्रपुर ९, १० र विर्तामोड ७, ८ का स्थानीयको दाहसंस्कारका लागि घाट निर्माण थालेको थियो । मोक्षघाट निर्माण स्थल भद्रपुर नगरमै रहे पनि वन क्षेत्र विर्तामोडमा परेका कारण सो स्थानमा घाट सञ्चालनमा आए दुर्गन्ध फैलने भन्दै निर्माण कार्यमा अबरोध गरिरहेको बताइएको छ ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर–१० चन्द्रगढस्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै २०८१ साल मंसिर २६ गते निर्माण समिति गठन गरेर औपचारिक रूपमा मोक्षघाट निर्माण प्रकृया सुरू गरेको थियो ।
मोक्षघाटका लागि पहिलो चरणमा वन समितिले ३३ लाख, वडा नम्वर ९ ले दुई लाख, १० नम्वर वडाले एक लाख पचास हजार, जेष्ठ नागरिक समितिबाट ४ लाख ८५ हजार, देउसीबाट संकलित ३२ हजार तथा अन्य दाताबाट सहयोग जुटाइ ४० लाखको श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरेर काम थालेको थियो । सो बिचमा झापा क्षेत्र नं २ प्रदेश सभा सदस्य तथा मन्त्री एकराज कार्कीलाई समेत मोक्षघाट निर्माण स्थलमा ल्याएर निर्माण समितिले काम गर्ने वातावरण बनाउने विश्वास राखेको थियो ।
वन समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको नेतृत्वमा मूल निर्माण समितिको अध्यक्ष बनाएर समितिमा उपाध्यक्ष गोकुलप्रसाद ढकाल, सचिव पार्वती मल्ल र कोषाध्यक्ष अनुज खतिवडा चयन भएका थिए भने सदस्यहरूमा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, हरिप्रसाद पराजुली, विष्णुप्रसाद काफ्ले, मिरा सञ्जेल, पुरूषोत्तम अधिकारी र रविन सुब्बा फागो चयन भएका थिए ।