झापा, जेठ ९ । कवाडीको सामान भेला गर्दै हिड्ने दुई भारतीय चोरीको तारसहित पक्राउ परेका छन् ।

बुधवार बिहान मेचीनगर नगरपालिका –७ को ५ नम्बर पोष्टस्थित चिया बगानमा प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत जिल्ला दार्जिलिङ पानीट्याङकी बस्ने २७ वर्षीय तापच बर्मन र सोही ठाउँ बस्ने २२ वर्षीय अमित सरकारसंग अन्दाजी सय केजीको ४ मुठा तामाको तार फेला परेको थियो । प्रारम्भिक सोधपुछ गर्दा उक्त तार मेचीनगर नगरपालिका वडा नं. १३ चारआली आसपास क्षेत्रबाट चोरी गरेको खुलेको थियो । नेपाल टेलिकम धुलाबारी शाखाले बिजुलीको पोलमा जडान गरेको कपर नेटवर्कको तार चोरी भएको इलाका प्रहरी कार्यालय धुलावारीमा निवेदन दिएको थियो ।
अन्दाजी ८० हजार मूल्य बराबरको तारसहित उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ । उनीहरुमाथि ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक महिनाअघि पनि टेलिफोनको तारसहित चारजना भारतीय मेचीनगर नगरपालिका –७ इटाभट्टामा पक्राउ परेका थिए । उनीहरुले मोरङ बेलबारी बजार आसपासमा निर्माणाधिन अवस्थामा रहेको सडक तथा पुलमुनि गाडेको ठाउँबाट तार चोरी गरेका थिए ।