झापा, जेठ ९ । भारततर्फ तस्करी हुन लागेको ५० बोरा काक्राको बीउमा ठूलै गिरोह संलग्न रहेको आशंका गरिएको छ ।

त्यति धेरै काक्राको बीउ कहाँबाट भेला गरी भारतमा लगेर के कति मूल्यमा बिक्री गर्न लागेको हो भन्ने खोजीको विषय बनेको हो । गत मंगलवार बिहान झापाको दक्षिणी नाकाबाट भारततर्फ तस्करी हुन लागेको ५० बोरा काक्राको बीउसहितको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.१ मा नम्बर प्लेट नखुलेको ट्रयाक्टरलाई शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदैं गरेको अवस्थामा ५० बोरा काक्राको बीउ फेला परेको थियो । प्रतिबोरा ५० के.जीका दरले काक्राको बीउ लोड रहेको थियो । अन्दाजी २ लाख ५० हजार बराबरको काक्राको बीउ र ट्रयाक्टरको मूल्य अन्दाजी ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । उनले ट्रयाक्टर चालकको खोजी जारी रहेको बताए ।
त्यति बेला नम्बर नखुलेपनि सो ट्रयाक्टर भारतीय नम्बरको भएको मेची भन्सार कार्यालयका निमित्त प्रमुख रामचन्द्र ढुंगानाले बताए । उनले काक्राको बीउ र ट्रयाक्टरको साढे ७ लाख प्रतिवेदन मूल्य राखेर ३५ दिने हकदावीको सूचना जारी गरिएको जानकारी दिए । सूचना निकालेको ४ दिनसम्म अहिलेसम्म कसैले पनि दावी नगरेको उनले बताए । प्रहरीले बेवारिसे अबस्थामा फेला परेको भनेर भन्सारलाई काक्राको बीउसहितको ट्रयाक्टर बुझाएको थियो ।