झापा, जेठ ९ । झापामा ब्राउनसुगरसहित तीन साइकल यात्री पक्राउ परेका छन् ।

गएराति ९.१५बजे झापा गाउँपालिका वडा न.४ सुकुम्बासी टोलमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी वडा न.४ बस्ने २२ वर्षीय अनुरोध ताजपुरिया र सोही ठाउँ बस्ने १९ वर्षीय कुबेरकुमार ताजपुरियालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा अनुरोध ताजपुरियाले लगाएको ट्रयाक सुटको दाहिने साईडको फेरमा लुकाएर ल्याएको प्लाष्टिकसहित १ ग्राम १७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ ।
त्यस्तै हिजो बिहान मेचीनगर नगरपालिका वडा नम्वर –६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट साइकलमा आउँदै गरेका मेचीनगर नगरपालिका–७ इटाभट्टा बस्ने २५ वर्षीय घनश्याम माझी ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
शंका लागेर शरीर तलासी लिँदा उनले मुखभित्र लुकाई राखेको प्लाष्टिकसहित १ ग्राम ३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।