झापा, जेठ ९ । इलाममा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ ।

जंगली च्याउ खाएर सिकिस्त बनेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ ५ लारुम्बा घर भई हाल सूर्योदय वडा नं. ४ ठुलो श्रीबुङगस्थित आमत थुलुङ राईको घरमा डेरामा बसी ज्यालामा चिया टिप्ने काम गर्दै आएका तीनजनाले मंगलवार बेलुका जंगली च्याउ खाएका थिए । जंगलबाट ल्याएको जंगली च्याउ खाएर इलाम माङसेबुङ ५ लारुम्बा बस्ने ५२ वर्षीय अमर लावती ,सोही ठाउँ बस्ने १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा थेगिम लिम्बू बुधवार दिउँसो सिकिस्त बनेका थिए ।

उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसमध्ये नुमा लावतीको आज दिउँसो २.४० बजे विराट नर्सिङ विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आजै जंगली च्याउ खाएर इलाममा आमा छोरी सिकिस्त भएका छन् । आज बिहान अन्दाजी ११ बजे इलाम चुलाचुली– ४ पालिका टोल वस्ने डम्बरबहादुर राईकी श्रीमती ४२ वर्षीया पुनम राई र उनकी छोरी १८ वर्षीया नाम्ची राईले आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका थिए ।

सोही च्याउ खाएर उनीहरु बिरामी भएका हुन् । दुवैजनाको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ । बोल्न सक्ने दुवै जनाको अबस्था मध्यम रहेको इलाम प्रहरीले जनाएको छ । इलामको प्रहरी प्रशासनले जंगली च्याउ नखान सबैलाई आव्हान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्