झापा,जेठ १० । धनकुटाको साँगुरीगढी गाउँपालिका प्रहरी चौकी ओख्रेले बोलेरो पिकअपमा लोड गरिएको ८ सय ९० किलो गाँजा बरामद गरेको छ ।


पिकअप गाडीमा २९ वटा बोरामा रहेको गाँजा शनिबार बिहान बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । साथै साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङका १९ वर्षीय उल्लास लिम्बूलाई नियन्त्रणमा पनि लिइएको छ ।
धनकुटाको बुढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विनोदकुमार राजवंशीको कमाण्डमा ३ जनाको एम्बुस टोली परिचालन गरिएको प्रवक्ता खनालले बताए ।
नजिकका प्रहरी युनिट लगायत इप्रका राजारानीबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा २० जनाको जनशक्ति परिचालन भएको थियो ।
उक्त सपोर्ट टोली नपुग्दै प्र १–०२–००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालकले भने ड्युटीमा रहेका प्रहरी जवान सञ्जय कुमार थारूलाई धकेलेर जंगलतर्फ फरार भएको बताइएको छ ।
थारुको अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको डाँडाबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थलबाट को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल र ४ थान मोबाइल फोनसमेत बरामद गरेको छ । फरार चालकको पहिचान खुलिसकेको हुँदा जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मोरङको संयुक्त टोलीबाट खोजतलास भइरहेको जनाइएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति र बरामद सामानलाई जिप्रकामा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्