झापा,जेठ १० । ताप्लेजुङको मेरिङदेन गाउपालिका–१ थिङलावुको थुङथाप खवागु नजिकमा झण्डै एक दर्जन पशुचौपाय मरेका छन् ।

वडाध्यक्ष सविन लिम्बूका अनुसार विजय लिम्बू एभेङका एक हल गोरु, एउटा बाच्छो, एउटा गाई, एउटा खसी र पाँचवटा बाख्रा बिजुलीको पोलकै छेउमा ढलेका हुन् ।
विजयका १८ वर्षीय छोरा सन्तोष एभेङले खर्कबाट चराएर गोठमा फर्काउँदै गर्दा घटना भएको हो । सन्तोषका अनुसार बिजुलीको झड्का उनलाई पनि लागेको थियो ।
चराउन लगेका पशुचौपायमध्ये आफ्नो छेउमा रहेको एउटा बाख्रोको खुट्टो तानेर बचाएको अरु बाँकी सबै मरेको सन्तोषले बताए । सन्तोषको पनि स्थानीय स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरिएको थियो । आफ्नो स्वास्थ्य ठिक रहेको उनले बताए ।
छेउमा आफ्ना पशुचौपाया पुग्दा बिजुलीको पोलमा आगो लागेको देखेको सन्तोषले बताए । वडाध्यक्ष सविनका अनुसार तारको इन्सुलेटर फुटेर विद्युत् प्रवाह भइरहेको तार पोलमा टासिएको र पोलमार्फत जमीनमा करेन्ट प्रवाह भई पशुचौपायामा क्षति पुगेको अनुमान गरिएको छ ।
यहाँको विद्युत् सेवा स्थानीय सहकारीले सञ्चालन गरेको थियो । यस घटनाका सम्बन्धमा विद्युत् सहकारी लगायत सरोकारवालासँग शनिबार छलफल गर्ने र यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने विधिका बिषयमा एउटा निष्कर्षमा पुग्ने गाउँपालिका अध्यक्ष युक हांविर हाङगामले जानकारी दिए ।
बिजुलीको तार झरेका कारण गत बैशाख ८ गते बिहान ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेका चारजना तीर्थयात्रीको सेवारो चोक नजिकै मृत्यु भएको थियो । दुईजना घाइते भएका थिए । विद्युत्का कारण दिनानुदिन भइरहेको घटनाप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।