झापा जिल्लाले एक समर्पित सामाजिक अभियन्ता, निडर राजनीतिक व्यक्तित्व, खेलप्रेमी र सेवाभावले भरिएको असल व्यक्तित्व गुमाएको छ । स्व. कृष्णबहादुर बस्नेत र आमा सरस्वती बस्नेतको कोखबाट जेठा छोराको रुपमा हाल इलाम नगरपालिका वडा न. १ साबिक साखेजुङ (गा.वि.स) वडा न. ५ मा जन्मनु भएको थियो । हामी सबैको मन आज गहिरो शोकमा डुबेको छ । किनभने हामीले विनोद बस्नेतज्यूलाई असामयिक रुपमा ५२ बर्षको उमेरमा गुमाएका छौ । स्वर्गीय बस्नेत एक निडर वक्ता, स्पष्ट विचार भएको राजनीतिक व्यक्तित्व र जनताको आवाज बोल्न सक्ने असल नेता हुनुहुन्थ्यो ।

उहाँको बोलीमा आत्मविश्वास थियो, विचारमा गहिरो सोच थियो र व्यबहारमा सहजता । उहाँ सामाजिक समानता, न्याय र जनहितका मुद्धाहरुमा सदैव अग्रपंक्तिमा उभिनुहुन्थ्यो । समाजका सबै वर्ग ,जेष्ठ नागरिकदेखि युवासम्म उहाँप्रति सम्मानका साथ हेर्थे । मधुर व्यबहार ,मिलनसार स्वभाव र समाजको हरेक पाटोप्रति उहाँको आत्मीयता अद्वितीय थियो ।उहाँ आफ्ना मित्रहरुका लागि सदैव सहयोगी हात, सहकर्मीहरुका लागि प्रेरणा र नवयुवाहरुका लागि आदर्शको केन्द्र हुनुहुन्थ्यो ।

स्व. बस्नेतको सक्रियता केवल पद र संगठनभित्र मात्र सीमित थिएन, सामाजिक विकास, युवाहरुको सशक्तिकरण, खेलकुदको प्रबर्द्धन र समुदायको समग्र उन्नतिमा उहाँले पुर्याएको योगदान अविस्मरणीय छ । उहाँमा असल नेतृत्व, सहकार्यको भावना, स्पष्ट दृष्टिकोण र निडर अभिव्यक्ति थियो ।जुन गुण एक असल मानव व्यक्तित्वको परिचय हो ।

उहाँ झापा गोल्डकपका निवर्तमान अध्यक्ष, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष, जेसीज पूर्व अध्यक्ष समाज झापाको निवर्तमान अध्यक्ष, एकका लागि १ अभियानका सहसंयोजक, रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष, मेची पेट्रोलियम डिलर्स एशोसिएसन झापाका महासचिव, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य तथा अन्य दर्जनौ सामाजिक संघ संस्थाको सफल नेतृत्व गरिसकेको व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँले खेलकुदको माध्यमद्वारा झापा जिल्लाको फुटबल खेलको विकास, उन्नयन, तथा प्रवर्द्धन साथै विश्व कोभिड– १९ को चपेटामा परेको बेला कोभिड– १९ बाट बचाउन, भोकालाई खानाको व्यवस्था, बिरामीलाई अक्सिजन सिलिण्डर र कनकाई कोटीहोममा कोभिड–१९ चेकअपका लागि पीसीआर प्रयोगशाला निर्माण गरी एकका लागि एक अभियान संस्थामार्फत गर्नु भएको सेवाभाव अझै पनि मेरो मानसपटलमा ताजै छ । स्वर्गीय विनोद बस्नेतज्यूको नाम आज पनि नेपाल जेसीजको इतिहासमा एक उज्यालो ताराको रुपमा चम्किरहेको छ ।

उहाँ केबल झापा जिल्ला मात्र नभई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल जेसीज अभियानमा एक प्रेरणादायी हस्तीको रुपमा चिनिनु हुन्थ्यो । उहाँले १८ बर्षदेखि ४० वर्षसम्मका युवाहरुलाई जेसीज अभियानमार्पmत नेतृत्व, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासको मार्गमा डोर्याउनु भएको अतुलनीय योगदान स्मरणीय छ । नेपाल जेसीजभित्रको एक प्रभावशाली वक्ता प्रशिक्षक र मार्गदर्शक पनि हुनुहुन्थ्यो ।

उहाँको जोश, दृष्टिकोण अनि युवाप्रति देखाएको भरोसाले धेरै नवप्रवेशी सदस्यहरुलाई जेसीज अभियानप्रति समर्पित हुने उत्प्रेरणा दिएको थियो।
स्वप्न देख्ने आँखाहरु थिए ,युवा बोल्ने स्वरहरु थिए।
झापाबाट देशभरि फैलिएको, एक प्रेरणादायी अभियान थिए।
जेसीजको यात्रामा अमिट चिनो, १८ देखि ४० वर्षे पुस्ताका भरोसा थिए
नेता मात्र होइन, सामाजिक सेवामा एक जीवन्त पाठ थिए ।
खेलमा जोश, राजनीतिमा निडर दृष्टिकोण हरमनमा बिनोद बस्नेत एक नाम, एक अभियान, एक प्रेरणा थिए ।
गए तपाई बाँचिरहनेछ तपाईको योगदान हाम्रो सोच र समाजमा सँधै।

उहाँको मानवीय भावनाले ओतप्रोतको जीवन शैलीले कैयौलाई प्रेरणा दिएको थियो उहाँको रहनसहन, बोलीचाली र व्यवहार सबैमा मित्रता, विनम्रता र इमान्दारीता झल्किन्थ्यो । उहाँ एक असल साथी, आदर्श समाजसेवी पारिवारको अभिभावक र सबैको प्रिय हुनुहुन्थ्यो । आज हामी उहाँसंग शारीरिक रुपमा साथमा छैनौ तर उहाँको स्मृति विचार र कर्म हामी सबैको मनमा सँधै जीवित रहने छ ।

उहाँले चाल्नु भएको सामाजिक कार्य, नेतृत्व र जनसेवाको भावना हामी सबैको लागि प्रेरणाको स्रोत हुनेछ । उहाँको कार्य,सोच र आदर्शले हामीलाई अझ उत्तरदायी नागरिक बन्न उत्प्रेरित गर्नेछ । म उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

अन्त्यमा, नेतृत्व त जन्मिन्छ, तर सेवा आत्मामा बस्नुपर्छ बस्नेत त्यसको मूर्त उदाहरण हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्