झापा, जेठ १० । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार तथा नेपाल एकीकरणका सारथी मानिएका विसे नगर्चीको नाममा स्थापित राष्ट्रिय सम्मान कार्यक्रम यस वर्ष पनि गरिने भएको छ ।

आयोजक गोर्खा फाउण्डेशन नेपालले सो कार्यक्रमलाई निरन्तरता दिने भएको हो । गत वर्ष चैत्र २१ गते गरिएको यो कार्यक्रम हरेक वर्ष गरिने अध्यक्ष वीरु दर्नालले जानकारी दिए । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ब्यक्तित्वलाई यो सम्मान समर्पण गरिने जनाइएको छ । सबै जातजातिका महिला र पुरुषलाई चयन गरी समावेशी हुने गरी यो कार्यक्रम गरिने कार्यक्रमको उद्धेश्य रहेको आयोजकले बताएको छ ।
गोरखा दरवारमा राजखलकका भोटो सिलाउने , नगरा बजाउने तथा युद्धकलामा साथ दिएका विसेको योगदानलाई वर्तमान पुस्तालाई जानकारी गराउँदै दलित जातिको पनि त्यो बेला राष्ट्र एकीकरण अभियानमा प्रमुख भूमिका र जिम्मेवारी थियो भन्ने इतिहासलाई चीरकालसम्म स्मरण गर्दै ताजा बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
अझै पनि दलित समुदायभित्र हिनताबोध बोकेर समाजसामु खुलेर प्रस्तुत नहुने र खुम्चिएर बस्नेहरुको कमी छैन । त्यसैले त्यो बेला पनि कपडा सिलाउने र बाजा बजाउने विसेले तत्कालीन राजाको सहयात्री भएर इतिहास बनाएको देखिएकोले उनलाई हेरेर वर्तमान पुस्ताले पनि समाज र राष्ट्रको लागि केही योगदान गर्न सक्नु पर्छ भन्ने प्रेरणा मिलोस् भन्ने उद्धेश्य रहेको आयोजकको भनाई छ ।
यस सम्मानबाट गत वर्ष वरिष्ठ निर्देशक तुलसी घिमिरे , महानायक राजेश हमाल , अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली भुवन सिंह बिश्वकर्मा , दलित महिलाबाट प्रथम प्रमुख जिल्ला अधिकारी सीता परियार र सामाजिक अभियन्ता तथा सहकारीकर्मी महेन्द्र गिरीलाई सम्मान गरिएको थियो । उनीहरुलाई जनही ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।
यही जेठ ३१ गते शनिबार राष्ट्रिय ब्यक्तित्व सम्मान कार्यक्रम गरिने फाउण्डेशनका महासचिव सुवास तिखत्रीले बताए । यस वर्ष सम्मानित हुने बिभिन्न ब्यक्तित्वहरुको छनौट कार्य अघि बढाइएको र एकदेखि पाँचजना सम्मलाई सम्मान गरिने समेत उनले जानकारी दिएका छन् ।