झापा, जेठ ११ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले गोली चलाएर गाँजा तस्कर पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ड्युटीमा खटिएको प्रहरीले हिजो साँझ गोली चलाएको हो।
साँझ ७;३० बजे कालिन्द्र सामुदायिक वनमा इप्रका महेन्द्रनगरबाट प्रहरी सहायक हवल्दार विवेक तामाङ र प्रहरी जवान प्रकाश राईको टोली गाँजा एम्बुसिङ डिउटीमा खटिएको अवस्थामा उक्त वनभित्र ४÷५ जना मानिसहरु बोरा बोकी आइरहेका थिए । ती मानिसहरु प्रहरी टोलीलाई देख्नसाथ भाग्न खोजेका थिए । प्रहरी टोलीले नभाग्न भन्दा उनीहरुमध्ये ५५ वर्षीय रामप्रसाद लिम्बूले धारिलो हतियार खुकुरी निकाली प्रहरी टोलीलाई प्रहार गर्न खोजेका थिए । आत्मसुरक्षाको लागि प्रहरी सहायक हवल्दार विवेक तामाङले टाइप–७७ सानो चाइनिज पेस्तोलले दुई राउण्ड हवाई फायर र एक राउण्ड लिम्बूको दाहिने खुट्टाको घुँडामुनि पिँडुलामा हानेका थिए ।
घाइते लिम्बूलाई नियन्त्रणमा लिई उपचारको लागि इप्रका महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको टोलीले बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरान लिएर गएको छ । प्रहरीले घटनास्थलबाट घरेलु हतियार खुकुरी –१ थान, रुख काट्टने गिडुवा आरा थान–१ , खन्ती थान –१ बरामद गरेको छ ।
त्यस्तै गएराति ८;४५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले अन्दाजी ८० केजी गाँजासहित एकजनालाई पक्राउ गरेको छ । धरान वडा नं. १५ देवी गाउँमा प्र.१–०२–०४४ प ४३२० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ४ बोरामा लोड गरेको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजासहित मोटरसाइकल चालक धनकुटा चौबिसे बस्ने २० वर्षीय अर्जुन लिम्बूलाई नियन्त्रणमा लिई इप्रका धरानमा राखिएको छ ।