झापा, जेठ ११ । राजावादीहरुले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह आज साँझ झापा आइपुगेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह ,भतिजी सिताष्मा शाह, छोरी प्रेरणा शाहसहित झापा आइपुगेका हुन् । साँझ ५.३० बजे चन्द्रगढी बिमानस्थलमा अवतरण गरी उनी बा २१ च ७३१८ नं को गाडीबाट दमक प्रस्थान गरेका छन् । पूर्व राजा शाहको स्वागतको लागि केही समर्थकहरु विमानस्थल पुगेका थिए । स्वागतका लागि धेरैजनालाई खबर नगरिएको बताइएको छ । स्वागतका लागि आफूलाई नबोलाएको राजसंस्था पुनर्स्थापना समितिका संयोजक टेकनारायण राजवंशीले बताए ।

उनी दुई हप्ते बसाइँका लागि झापा आएका हुन् । दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा बस्ने भएका छन् । उनी जेठ २५ गतेसम्म झापामा रहने बुझिएको छ ।

पूर्व राजा शाहले दमकमा बसेर राजनीतिक भेटघाट गर्दै आएका छन् । राप्रपालगायतका राजावादी शक्तिहरुले जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको तयारी गरिरहेका बेला पूर्व राजा झापा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्