झापा, जेठ ११ । जंगली च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङ ५ लारुम्बाका तीनैजनाको मृत्यु भएको छ ।

इलाम माङसेबुङ ५ लारुम्बा घर भई हाल सूर्योदय वडा नं. ४ ठुलो श्रीबुङगस्थित आमत थुलुङ राईको घरमा डेरामा बसी ज्यालामा चिया टिप्ने काम गर्दै आएका तीनजनाले मंगलवार बेलुका जंगली च्याउ खाएका थिए । जंगलबाट ल्याएको जंगली च्याउ खाएर माङसेबुङ ५ लारुम्बा बस्ने ५२ वर्षीय अमर लावती ,सोही ठाउँ बस्ने १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा थेगिम लिम्बू बुधवार दिउँसो सिकिस्त बनेका थिए ।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसमध्ये नुमा लावतीको शुक्रवार दिउँसो २.४० बजे विराट नर्सिङ विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै विराट नर्सिङ विराटनगरमा उपचार संभव नभएपछि शुक्रवार राति ८.४५ बजे मनिषा थेगिमलाई डिस्चार्ज लिई घर ल्याइएको थियो । हिजो साँझ ६.४० बजे माङसेबुङ ५ लारुम्बास्थित आफ्नै घरमा मनिषाको मृत्यु भएको हो ।
त्यस्तै फिक्कलस्थित श्रीनिधि अस्पतालमा उपचारपछि घरमै राखी उपचार गराइरहेका अमर लावतीको आज साँझ मृत्यु भएको छ । साँझ ६.१५ बजे मृत्यु भएको मृतकका छोराले जानकारी गराएपछि प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।