झापा, जेठ १२ । पूर्व राजा ज्ञानेन्द्र शाह झापा आउँदा राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समिति झापाका संयोजक टेकनारायण राजवंशीलाई समेत स्वागतका लागि चन्द्रगढी विमानस्थलमा बोलाइएन ।

उनले पूर्व राजा शाह झापा आउने कुरा शनिवार संचारमाध्यमबाट थाहा पाएर शाहका निजी सचिवलाई सोधेका थिए । तर ती सचिवले ढाँटिदिए । यसरी नबोलाएको कार्यक्रममा जान मनासिव नहुने ठानेर उनी हिजो चन्द्रगढी विमानस्थलमा स्वागतका लागि गएनन् । उनीजस्ता कट्टर राजावादीसंगै राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीका समर्थकहरु पनि स्वागतमा देखिएनन् । शाहको सचिवालयले उनीहरुलाई खबर नै गरेन ।
करिव १०–१२ जना मात्र पूर्व राजाको स्वागतमा सरिक देखिएको एक प्रहरी अधिकारीले बताए । ‘ स्वागतका लागि जाने इच्छा थियो ’ पूर्व सहायक मन्त्रीसमेत रहेका राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समितिका संयोजक राजवंशीले भने ,‘ नबोलाएको ठाउँमा जान उचित लागेन र गइनँ । ’ नबोलाएपनि जाने इच्छा राखेका राजवंशीलाई पूर्व राजाका सचिवले ढाँटेकोमा मन दुखेको छ ।
राजावादीहरुले यही जेठ १५ गतेदेखि राजधानीमा अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा शाह हिजो साँझ झापा आइपुगेका हुन् । पूर्व राजा शाह ,भतिजी सिताष्मा शाह, छोरी प्रेरणा शाहसहित झापा आइपुगेका हुन् । साँझ ५.३० बजे चन्द्रगढी बिमानस्थलमा अवतरण गरी उनी बा २१ च ७३१८ नं को गाडीबाट दमक प्रस्थान गरेका छन् । उनी दुई हप्ते बसाइँका लागि झापा आएका हुन् । दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा बसेका छन् । उनी जेठ २५ गतेसम्म झापामा रहने बुझिएको छ ।
राजावादीहरुले यही जेठ १५ गतेदेखि राजधानीमा अनिश्चितकालीन आन्दोलन गर्ने भएका छन् । त्यसका लागि राप्रपाका कार्यकर्ताहरु राजधानीतर्फ जान थालेका छन् । हिजो करिव सयजना युवा कार्यकर्ता राजधानी गएको राप्रपा झापाका अध्यक्ष केशव ओझाले बताए । आज राजधानीमा पार्टी अध्यक्षसंग युवाहरुको साक्षात्कार कार्यक्रम रहेकाले युवाहरु अगाडि नै गएको उनले बताए । जेठ १५ गतेको आन्दोलनका लागि झापाबाट करिव हजारको संख्यामा नेता कार्यकर्ता जाने अनुमान गरिएको छ ।