झापा,जेठ १२ । लामो समयदेखि सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएर बसेकाहरूले अब भने स्मार्ट लाइसेन्स पाउने भएका छन् ।


नयाँ लाइसेन्स र नवीकरणका लागि राजस्व तिरेको पाँच वर्षसम्म पनि सेवाग्राहीले बिल बोकेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य हुन लागेको हो ।
यातायात व्यवस्था विभागसँग स्मार्ट लाइसेन्स छाप्ने एउटा मात्रै मेसिन भएकाले मागअनुसार प्रिन्ट गर्न सकेको थिएन । विभागका अनुसार अहिले २८ लाख स्मार्ट लाइसेन्स छाप्नै बाँकी छ ।
पछिल्लो समय विभागले दैनिक ५ हजार स्मार्ट लाइसेन्स छाप्नुपर्ने अवस्था छ ।
तर अब विभागले त्यस्ता २८ लाख स्मार्ट लाइसेन्स छपाइका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सुरक्षण मुद्रण केन्द्रसँग समझदारीमा हस्ताक्षर गरेको जनाएको छ ।
यसले लामो समयदेखि स्मार्ट लाइसेन्स कुर्नुपर्ने बाध्यतालाई कम गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल बताउँछन् ।
त्यस्ता २८ लाख थान स्मार्ट लाइसेन्स असार मसान्तबाट छाप्न सुरु गर्नेगरी सम्झौता भएको उनले जानकारी दिए । महानिर्देशक पोखरेलले उच्च सुरक्षासहितको क्यूआर कोड स्मार्ट लाइसेन्समा हुने पनि बताए ।
विदेश जाने प्रयोजनका लागि मात्रै चिपसहित लाइसेन्स छपाइ गरिनेगरी मुद्रण केन्द्रले लाइसेन्स छापेर विभागलाई दिने उनको भनाइ थियो ।
महानिर्देशक पोखरेलका अनुसार साउनपछि सबैले सहज रूपमा लाइसेन्स पाउनेछन् । उनका अनुसार विभागले नयाँ ट्रायल पास र विदेश जानेहरूका लागि छपाई गर्ने र बाँकी पुराना भने केन्द्रले छपाइ गर्ने पनि जानकारी दिए । केन्द्रले ‘जीटूजी’ मोडलमा समझदारी गरी स्मार्ट लाइसेन्स छाप्न लागेको उनको भनाइ थियो ।
उनका अनुसार जीटूजी सम्झौता भए पनि पनि केन्द्रले लाइसेन्स छापेबापत भने शुल्क लिनेछ । तर शुल्क कति भन्नेचाहिँ निर्धारण हुन बाँकी र बोर्डले तय गर्ने उनको भनाइ थियो ।
यसका लागि सञ्चार मन्त्रालयका सचिवको अध्यक्षतामा अर्थ मन्त्रालयसहित अन्य मन्त्रालयका प्रतिनिधि सदस्य रहेको समिति बनेको उनले जानकारी दिए । उक्त समितिले छपाइ लागत यकिन गरी निर्धारण गर्ने र मागअनुसार दिनमा १४ देखि १६ सयसम्म लाइसेन्स प्रिन्ट हुने उनले बताए ।
विभागका अनुसार कतिपयले लिन नपाउँदा प्रिन्ट भएर बसेका पनि झन्डै एक लाख थान लाइसेन्स विभागमा थन्किएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्