झापा , जेठ १२ । इलाममा रोयल इन्फिल्ड मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

गएराति ८.१५ बजे इलाम नगरपालिका –७ टुँडिखेलस्थित नाङलो रेष्टुरेन्ट अगाडीबाट १७२४ नं.को कालो रंगको रोयल इन्फिल्ड मोटरसाइकल चोरी गर्नेहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा इलाम नगरपालिका ८ बस्ने २० वर्षीय सुमन तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय भुपेन्द्र कडरिया रहेका छन् ।
मोटरसाइकल चोरी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाममा खबर प्राप्त हुनसाथ ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले राति ८.३५ बजे इलाम ८ तिलकेनीबाट मोटरसाइकलसहित मोटरसाइकल चालक तामाङ र पछाडी सवार कडरियालाई पक्राउ गरेको हो ।
तामाङलाई उनको घरबाट राति ९.३५ बजे जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको डीएसपी मानबहादुर राईले बताए । उनले दुवैलाई जिल्ला अदालत इलामबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।