झापा, जेठ १२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ फूलचोकमा तीनजना सवार मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

आज दिउँसो १२.५५ बजे फुलचोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१–०२–००३ त ९०२ नं. को ट्रयाक्टरले विपरित दिशाबाट जाँदै गरेको प्र.१–०२–०५५ प ६२९६ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा इनरूवा नगरपालिका–१० जाल्पापुरका २० वर्षीय सर्फराज अन्सारी र हरिनगरा गाउँपालिका–१ का महजित अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
उनीहरू दुवैको सप्तकोशी न्युरो अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इनरुवा–१० जाल्पापुरका २० वर्षीय साहेब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
ट्रयाक्टर चालक भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ४६ वर्षीय सुब्दीराम चमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको खतिवडाले जानकारी दिए ।