झापा, जेठ १२ । इलाममा फेरि एक १२ वर्षीया बालिकाले झुन्डिएर आत्महत्या गरेकी छन् ।

आज साँझ ६ः४० बजे इलाम माई नगरपालिका ७ स्थित हेलाङ्गी डाँडा बस्ने कृतिबिक्रम सदेम्बा राईकी छोरी १२ वर्षीया शिखा सदेम्बा राईले घरमा कोही नभएको अवस्थामा आत्महत्या गरेकी हुन् । काठको बेरा र टिनको छानो भएको एकतले घरको आफ्नै सुत्ने कोठाको काठको बिममा उनले तन्नाको पासो लगाएकी हुन् । उनी मृत अवस्थामा फेला परेको प्रहरी चौकी महमाईमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली जाने तयारी भइरहेको जनाइएको छ ।
यसअघि गत बैशाख २९ गते इलाम नगरपालिका– ११ निन्दाखु बस्ने मेघराज नेपालकी छोरी १२ वर्षीया सेविका नेपालले पनि झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
यता जेठ ८ गते झापा कचनकवल गाउँपालिका १ भेलामुनी बस्ने जयसिंह राजवंशीका छोरा १३ वर्षीय बेदनारायण राजवंशीले आफ्नै घरको सुत्ने कोठामा बाँसको बलोमा प्लास्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका थिए ।
युवायुवतीसंगै बालबालिकाहरुले आत्महत्या गर्ने क्रम बढेको छ । यो उमेरमा बालबालिकाहरुले जिद्धि गर्नेे, मनमा लागेको कुरा पूरा भइहाल्नुपर्ने हुन्छ । यदि पूरा भएन भने उनीहरुले आत्महत्या गर्न सक्ने देखिएको छ ।