झापा, जेठ १२ । जलथल वनमा जैविक विविधता जोगाउन गरिएका अभ्यासलाई निरन्तरता दिन नसक्ने हो भने वन फेरि संकटमा पर्न सक्ने देखिएको छ ।

दक्षिण एसियाकै धनी जलथल वनमा रहेका जैविक विविधतालाई निरन्तर संरक्षण गर्न सकिएन भने अबको १० वर्षपछि वन फेरि पहिलाकै अबस्थामा पुग्ने कुराको चिन्ता छाएको हो । जलथल वनअन्तर्गत चौकी विरान सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइरहँदा सरोकारवालाहरुले जलथल वनप्रति त्यस्तो गंभीर चिन्ता गरेका हुन् । फरेष्ट एक्सन नेपाल र डिभिजन वन कार्यालयको सहकार्यमा भए गरेका राम्रा अभ्यासहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको हो ।

जलथल नेपालको महत्वपूर्ण र विशिष्ट प्रकारको वन हो । देशभर ६ सय प्रजातिका रुख रहेकोमा जलथलमा एकचौथाई भन्दा बढी अर्थात १५५ प्रजातिका रुख पाइन्छन् । त्यस्तै उन्यू ४३ , झारपात २४६ , लता÷ लहरा ६४ , बुट्यान ७८ , पाम ४ प्रजातिका पाइन्छन् । त्यस्तै प्राणीमा पुतली १५७ , माछा ४३ , उभयचर १४ , सरिसृप ३२ , चरा २३५ र स्तनधारी २७ प्रकारका भेटिएका छन् । त्यस्तै ढुसी ÷ च्याउ ८४ प्रकारको भेटिएको छ ।

पूर्वी तराईमा मूल वनबाट छुट्टिएको सबैभन्दा ठूलो वनखण्ड जलथल ५९० वनस्पति र ३५१ मेरुदण्ड भएका प्रजातिहरुको बासस्थान भएको अध्ययनले देखाएको छ । त्यस्तै दक्षिणपूर्वी एसियाका महत्वपूर्ण वनस्पतिका प्रजातिहरु , उष्ण प्रदेशीय सदाबहार बुच्काहरु , नेपालमा लटहरको सबैभन्दा ठूलो वन , तराईमा थाकलको प्राकृतिक थलो र १३ वटा संकटापन्न प्रजातिको बासस्थान जस्ता विशेषता जलथल वनमा रहेको छ ।

प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले सूचीकृत गरेको वनस्पति अनौकाठ , थाकल , रातो शिरीष , प्राणीहरु हात्ती , लाम्चे कछुवा , सालक जलथलमा रहेका छन् । त्यस्तै जलथल वनमा दुर्लभ भोटे लहरा पनि भेटिएको छ ।

फरेष्ट एक्सनले सिकाएका अभ्यासहरुलाई गरेर देखाउनु पर्ने अवसर आएको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । उनले विगतमा कसरी वनलाई बचायौं अब कसरी बचाउन सकिन्छ भनेर सबैजना लाग्नुपर्नेमा जोड दिए । जलथल वनलाई व्यवस्थित बनाउन हल्दिवारी गाउँपालिकाले केही बजेट छुट्याएको जानकारी दिए ।

फरेष्ट एक्सन नेपालका संयोजक डा. लीलानाथ शर्माले सबैको आडमा जलथल वन अडिएको भन्दै वास्ता नगर्ने हो भने वन नरहन सक्नेतर्फ सचेत गराए । जैविक विविधता संरक्षणका लागि यहाँका सामुदायिक वनहरुले न्याय गर्न नसकिरहेको गुनासो गर्दै अहिले पनि चिन्ताजनक अबस्था रहेको औल्याए । फरेष्ट एक्सन नेपाल र डिभिजन वन कार्यालयले गरेर नहुने भन्दै उनले सामुदायिक वनहरु नै संरक्षणमा लाग्नुपर्ने बताए । जलथलमा रहेका सामुदायिक वनहरुले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको जोड थियो ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले जलथल वनमा रहेका जैविक विविधताको महत्व बुझ्न उपभोक्ताहरुलाई आग्रह गरे । मानिसको जीवनयापनको सम्पूर्ण स्रोत जैविक विविधतामा निहित रहेको उनको भनाई थियो ।

राम्रा अभ्यासलाई निरन्तरता दिन सकेनौं भने जैविक विविधतालाई संरक्षण गर्न नसक्ने निष्कर्ष निकाल्दै कार्यक्रमका सहभागीहरुले स्थानीय उपभोक्ताहरु नै त्यसमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्