झापा,जेठ १३ । विभिन्न समयमा तस्करबाट जफत गरिएका तथा बेवारिसे फेला परेका २ लाख ११ हजार ५४ केजी रक्तचन्दन अलपत्र अवस्थामा छन् ।

वन अधिकारीका अनुसार अनुमानित बजार मूल्य प्रतिकेजी करिब १५ हजार ४ सय १० रुपैयाँका हिसाबले करिब ३ अर्ब २५ करोड २३ लाख ४२ हजार १ सय ४० पर्ने रक्तचन्दनका ती काठ वन तथा भू–संरक्षण विभागका देशभरका विभिन्न शाखामा अलपत्र छन् ।
दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार (साइटिस) महासन्धिअनुसार ओसारपसार र बेचबिखनमा प्रतिबन्धित रक्तचन्दन बरामद भएमा सम्बन्धित मुलुकलाई नै फिर्ता गर्नुपर्ने हुन्छ । बरामद रक्तचन्दनमध्ये अदालती प्रक्रियाबाट अन्तिम किनारा लागिसकेका करिब १ लाख ६८ हजार ५ सय ७२ केजी रक्तचन्दन भारत नै पठाउने पहल विभागले अघि बढाएको छ । यसअघि विभिन्न समयमा गरी ३६ हजार ९ सय २८ किलो रक्तचन्दनको काठ भारतलाई बुझाइएको छ ।
विभिन्न मितिमा बरामद गरिएका मध्ये कुल १९ हजार ३ सय २४ केजी काठ भने हराएको विभागको दाबी छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार करिब ६ सय ५५ केजी काठ अन्तिम संस्कारका लागि पनि प्रयोग गरिएका छन् । तीमध्ये काठमाडौंमा ६ सय १९ केजी काठ अन्तिम संस्कारका लागि प्रयोग गरिएको छ भने नवलपरासीमा ११ केजी र सिन्धुपाल्चोकमा २४ केजी प्रयोग गरिएको छ ।
विभागका अनुसार हाल मुद्दा कारबाहीमा रहेको रक्तचन्दनको परिमाण १६ हजार ४ सय ८७ केजी, अदालतबाट फैसला भइसकेको १ लाख ८९ हजार ३ सय ७६ केजी, अदालती प्रक्रियामा रहेको २ लाख ५ हजार ८ सय ६३ केजी, बेवारिसे अवस्थामा रहेको ६२ हजार ९७ केजी छ भने अदालती प्रक्रियामा तथा बेवारिसे रक्तचन्दको परिमाण २ लाख ६७ हजार ९ सय ६१ केजी छ ।
चितवन, सर्लाही, दोलखा, झापा, नवलपारसी, ताप्लेजुङ, कपिलवस्तु, धादिङ, तेह्रथुम, रसुवा, रूपन्देही, बझाङ, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुर, काठमाडौं, गोरखा, संखुवासभा, सप्तरीलगायत जिल्लामा यसको कारोबार बढी हुने गरेको देखिएको छ ।