झापा, जेठ ७ । अनलाईन सट्टाबाजी (अनलाईन जुवा) खेलाएको आरोपमा झापाको कन्काई ८ लक्ष्मीपुरबाट पक्राउ परेका आमा छोरीका बारेमा प्रहरीले गहन अनुसन्धान थालेको छ ।

अमेरिकाबाट संचालन भइरहेको अनलाईन जुवाको एजेन्टको रुपमा काम गर्ने कन्काई ८ लक्ष्मीपुर बस्ने ४१ वर्षीया इन्दिरा प्रसाई र उनकी छोरी २१ वर्षीया सिमरन प्रसाई गत मंगलवार राति पक्राउ परेका थिए । प्रहरीले उनीहरुका बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए ।
पक्राउ परेकै दिन अदालतबाट ४ दिनको अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो ।४ दिनको अनुसन्धान पूरा भएपछि आमा इन्दिरा प्रसाईलाई हाजिरी जमानीमा छाडिएको र छोरीलाई थप म्याद मागेर हिरासतमै राखेर अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए । ती आमा छोरीले अनलाइन जुवाको कनेक्सन गराइदिने काम गरेको खुलेको छ । उनीहरुकै मार्फत धेरैले अनलाईन जुवा खेलेको खुल्न आएको हो ।