झापा, जेठ १४ । आवदेन लिएको झन्डै डेढ वर्षपछि बिर्तामोड नगरपालिकाले विभिन्न पदहरुको विज्ञापन रद्ध गरेको छ ।

नगरपालिकाले हिजो एक सूचना जारी गरी २०८० मंसिर ८ गते बिर्तामोड नगर अस्पतालका लागि खुलाएको मेडिकल अधिकृत , हेल्थ असिस्टेन्ट , स्टाफ नर्स , रेडियोग्राफर , अहेब र अनमी पदको विज्ञापन रद्ध गरिएको जनाएको हो ।

नगर अस्पतालको प्रस्तावित दरबन्दीमा ती पदहरुलाई ओ. एण्ड एम. सर्वेक्षण प्रतिवेदनमा स्थायी पद कायम गरिएकाले र उक्त पदहरु पद दर्तापश्चात् स्थायी पदपूर्ति हुने भएकाले करार जनशक्ति पूर्ति गर्न नसकिने प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सूचनामा उल्लेख गरेका छन् । जेठ १ गतेको बैठकको निर्णय अनुसार ती सबै पदहरुको विज्ञापन रद्ध गरिएको उल्लेख छ ।

विज्ञापन रद्ध गरिएपछि आवेदकहरुले दरखास्त दस्तुर फिर्ता पाउने भएका छन् । २०८० माघ १० गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगर अस्पतालका लागि विभिन्न पदमा विज्ञापन खुलाएका थिए । विज्ञापनमा मेडिकल अफिसर ३ ,हेल्थ असिस्टेन्ट १ ,स्टाफ नर्स ४, रेडियोग्राफर १ , ल्याव टेक्निसियन २ , अहेब ५ , अनमी ५ , ल्याव असिस्टेन्ट १ र क्लिनर १२ जना चाहिएको उल्लेख गरिएको थियो । त्यसमध्ये २०८१ बैशाखमा ल्याब टेक्निसियन र ल्याव असिस्टेन्ट पदको परीक्षा मात्र संचालन गरी ३ जना छनोट गरियो । २ जना ल्याव टेक्निसियन पदका लागि ३२ र एकजना ल्याव असिस्टेन्ट पदका लागि ३२ जनाले नै आवेदन दिएका थिए । त्यसमध्ये लिखित र मौखिक परीक्षाबाट ३ जना छानिएका हुन् । बाँकी पदहरुको लागि नगरपालिकाले परीक्षा नै गराउन सकेन ।

नगरपालिकाको प्रशासन शाखाका अनुसार तीनजना मेडिकल अफिसरका लागि १२ जना , ४ जना स्टाफ नर्सका लागि ५५ जना , एकजना रेडियोग्राफरका लागि १३ जना , पाँचजना अहेबका लागि ९२ जना , पाँचजना अनमीका लागि ८३ जनाले आवेदन दिएका थिए । आवेदकहरुले मेडिकल अफिसरका लागि रु १००० ,हेल्थ असिस्टेन्टका लागि ५०० , स्टाफ नर्सका लागि ५०० , ल्याब टेक्निसियनका लागि ५०० , रेडियोग्राफरका लागि ५०० , अहेबका लागि ४०० , अनमीका लागि ४०० , ल्याब असिस्टेन्टका लागि ४०० र क्लिनरका लागि ३०० रुपैयाँ दरखास्त दस्तुर बुझाएका थिए । आवेदकहरुबाट २ लाख बढी राजश्व संकलन भएको थियो ।

२१८ जना आवेदकबाट १२ जना क्लिनर छानिदै

अन्य पदहरुको विज्ञापन रद्ध गरिएपनि क्लिनर पदको विज्ञापन भने नगरपालिकाले रद्ध गरेको छैन । त्यसबेला आवेदन दिने आवेदकहरुबाट आगामी साता क्लिनर छानिने प्रमुख प्रशासकीय अधिकृत मिश्रले जानकारी दिए । बिर्तामोड नगर अस्पतालमा १२ जना क्लिनर पदका लागि २१८ जनाले आवेदन दिएका छन् । क्लिनर चाहिएपनि अत्यधिक आवेदन परेका कारण नगरपालिकाले छनौट गर्न सकेको थिएन ।

स्नातक उत्तीर्ण गर्नेहरुले समेत क्लिनर पदका लागि आवेदन दिएका छन् ।झापाका विभिन्न पालिकासहित इलाम , पाँचथर , ताप्लेजुङ, तेह्रथुम, मोरङ, सुनसरी , संखुवासभा, धनुषासम्मका व्यक्तिहरुले क्लिनरका लागि दरखास्त दिएका छन् । आवेदकहरुमा अधिकांश महिला छन् ।

करारमा नियुक्त गर्न लागिएको ती पदका लागि धेरै सोर्सफोर्स आएपछि नगरपालिकालाई थेग्नै गाह्रो भएको बताइन्छ । क्षमता भएका अनुभवी व्यक्तिहरुलाई निष्पक्ष ढंगले क्लिनर छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्