झापा,जेठ १४ । विपक्षी दलले लगातार दोस्रो दिन पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठक अवरुद्ध पारेका विपक्षी दलले बुधबार पनि त्यसलाई निरन्तरता दिएका हुन् ।
बुधबारको बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध गरेका थिए । सोही क्रममा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएकामा विपक्षीले होहल्ला सुरु गरेका थिए । त्यसपछि सभामुखले बोल्न दिन या गृहमन्त्रीलाई बोल्न समय दिनआग्रह गरेकामा विपक्षीले नमानेपछि बुधबार पनि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।
यसअघि मंगलबार पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने विपक्षीको अडानका कारण आजसम्मका लागि बैठक स्थगित भएको थियो । विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने स्पष्ट पार्दै आएका छन् ।