बिर्तामोड, जेठ १४ । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लब अफ बिर्तामोडले १५ औं स्थापना दिवस क्लबका लोकप्रिय साथी,पूर्व अध्यक्ष विनोद बस्नेतलाई सम्झदै लोकोपयोगी कार्यहरु गरी मनाएको छ ।


पूर्व अध्यक्ष बस्नेतको स्मृतिमा रोटरी क्लब अफ बिर्तामोडले रक्तदान र बृक्षरोपण कार्यक्रम गरेको हो । बिर्ताबजारस्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा ४ महिलासहित ५२ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रमलाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले उद्घाटन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीको विशेष आतिथ्यता रहेको थियो ।


प्रत्येक वर्ष मे २८ का दिन स्थापना दिवस मनाउने गरेका रोटेरियनहरुले यो वर्षको स्थापना दिवस पूर्व अध्यक्ष विनोद बस्नेतको स्मृतिमा रक्तदान तथा बृक्षरोपण गरेर मनाएका हुन् । ५२ वर्षको अल्पायुमा अकल्पनीय स्वर्गारोहण भएका स्व बस्नेतको मानवीय सेवाको उच्च भावनाको सम्मान गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले जानकारी दिए ।

रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शैलेन्द्र कुरुङवाङले गरेका थिए भने स्वागतसहित कार्यक्रमको औचित्यमाथि अध्यक्ष अग्रवालले प्रकाश पारेका थिए ।

रोट्रयाक क्लब अफ बिर्तामोडलगायत विभिन्न संघ संस्थाको समन्वय तथा दुर्गा मन्दिर व्यवस्थापन समिति बिर्ताबजारको सहकार्यमा सञ्चालित रक्तदान कार्यक्रमको संयोजन सजेश शिवाकोटीले गरेका थिए । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझीले धन्यवाद ज्ञापन गरेका थिए ।

यसअघि बस्नेतकै स्मृतिमा बिर्तामोड ३ स्थित विराट भरत विश्रान्ति परिसरमा विभिन्न जातका फलफूलका बिरुवा रोपिएको अध्यक्ष अग्रवालले बताए । कार्यक्रम संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षरोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षसहित रोटेरियन र रोट्रयाक्टरहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्