झापा,जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र जनताको शासन भएको बताएका छन्।

गणतन्त्र दिवस –२०८२ को विशेष समारोहमा सम्बोधन गर्दै ओलीले गणतन्त्र कुनै दलको स्वामित्व नभई यसको मालिक जनता भएको उल्लेख गरेका हुन्।
उनले अहिलेको प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैंले छान्न र फेर्न सक्ने स्पष्ट पारे। ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन– यसको मालिक जनता हो। लोकतान्त्रिक गणतन्त्र–‘जनताको लागि, जनताद्वारा, जनताको’ शासन प्रणाली हो। यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडा सदस्यदेखि राष्ट्रपतिसम्म आफैंले छान्न र फेर्न सक्छन्।’ ओलीले भने ‘त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ। जनताको अधिकार र उत्तरदायित्वको संयोजन गर्न सक्दा मात्र गणतन्त्रले हाम्रो सुन्दर देश नेपाललाई विकास, समृद्धि र सुशासनको अत्युत्कर्षमा पु¥याउन सक्ने छ।’
एमाले अध्यक्षसमेत रहेका ओलीले हिजो रेडियोले हुकुम मात्र बजाउने गरेको तर आज सामाजिक सञ्जालमा जनताका आवाज गुञ्जिने बताए। उनले भने,‘हिजो जनताले सिंहदरबार र नाराणहिटी, गेट बाहिरबाट हेर्थे, आज जनता त्यहाँभित्र पस्छन्। गणतन्त्र जनताको शासन हो, उनीहरुले चुनेका प्रतिनिधि त्यहीँबाट उनका लागि सेवा र शासन गर्छन्।
देशमा गणतन्त्रको बिहानी नहुँदासम्म वितेको कठोर कालो रात सम्भवतः आजको नवोदित पुस्ताको प्रत्यक्ष स्मृतिमा नभएको उल्लेख गरे। उनले भने, ‘जायज होउन् वा नाजायज– आफ्ना मत र आग्रहहरुलाई सामाजिक सञ्जालमा निर्वाध व्यक्त गरिरहेको आजको पुस्ताले विचार र समाचारमा प्रतिबन्ध लागेका सञ्चार माध्यम र बन्द रहेका टेलिफोन तथा मोबाइलहरुको कथा मात्रै सुनेको हुनुपर्छ। त्यसबेला हुकुमी आदेश तामेली मात्रै गर्न अभिशप्त समाज आज निर्वाध रुपमा आफ्नो मत व्यक्त गर्न र राज्य सञ्चालनका कुनै पनि घटनालाई ‘जज’ गर्न पाउने ठाउँमा उभिएको छ।’