विर्तामोड, जेठ १५ । यस वर्षको विसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान वरिष्ठ संगीतकार रन्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई प्रदान गरिने भएको छ ।

बिर्तामोडको सिटी सेन्टरमा यही जेठ ३१ गते शनिवार सो सम्मान दुवै व्यक्तित्वलाई प्रदान गरिने आयोजक गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष वीरु दर्नालले बताए । उनले राष्ट्रिय सम्मानका लागि ब्यक्तित्वद्वयको नाम छनौट गरिएको जानकारी दिए ।
गोरखाका राजा पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्न आर्थिक अभाव भएसँगै युद्ध कला र हातहतियार खरिद गर्न विसे नगर्चीले आवश्यक सल्लाह दिएका थिए । पृथ्वीनारायण शाहको सारथी बन्न सफल उनै ऐतिहासिक ब्यक्तित्वको नाममा स्थापित विसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान गत वर्षदेखि प्रदान गर्न थालिएको हो । यसलाई हरेक वर्ष निरन्तरता दिइने दर्नालले बताए ।
दलित समुदायका अग्रज , प्रेरणाका स्रोत विसे नगर्चीले राष्ट्र निर्माणमा दिएको योगदानलाई चीरस्मरण गर्दै वर्तमान युवा पुस्तासम्म पुर्याउन यस्तो कार्यक्रमको परिकल्पना गरिएको फाउण्डेशनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोशन नेपालीले बताए ।
समाजमा विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने ब्यक्तित्वलाई यो सम्मान प्रदान गरिने परम्पराको थालनी गरिएको संयोजक नेपालीले बताए ।विभिन्न क्षेत्रका एकदेखि ५ जनासम्म विशिष्ट ब्यक्तित्वलाई सम्मान गरिँदा एक जना झापाबाटै हुनु पर्ने फाउण्डेशनको अवधारणा भएकोले यस पटक एक जना बाहिर र एक जना झापाबाट छनौट गरिएको महासचिव सुवास तिखत्रीले बताए ।
झापामा बसेर विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरी केन्द्रीय स्तरमा झापाको नाम उच्च पार्न जीवन समर्पण गरेका त्यस्ता ब्यक्तित्वलाई सम्मानका लागि चयन गरिएको तिखत्रीले बताए ।
नेपाली चलचित्र बाँसुरी , कुसुमे रुमाल , लाहुरे , चिनो , दर्पण छायाँलगायत दर्जनौं चलचित्रमा कालजयी संगीत भरेर गजमेर नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय छन् । दार्जिलिङ निवासी गजमेरले सन् ७० को दशकमा रेडियो नेपालमा काम गर्दैगर्दा भारतीय चलचित्र उद्योगमा प्रवेश पाएका थिए । नेपाली मादललाई बलिउडमा उनै गजमेरले पहिलो पटक परिचित गराउँदै स्थापितसमेत गराए । बलिउडका चर्चित संगीतकार आरडी वर्मन ( पन्चम दा ) को विश्वास पात्र बनेर उनको मृत्युपर्यन्त साथ दिएका थिए ।
शिक्षा तथा समाजदेवी ढुंगाना मेची अंचलका स्थापित शिक्षा तथा समाजसेवी हुन् । नर्सरीदेखि डिग्रीसम्मको पढाई संचालन गर्ने कनकाई क्याम्पस बिर्तामोडका संस्थापक हुन् ढुंगाना । शिक्षा क्षेत्रको विकाससंगै विभिन्न सामाजिक क्षेत्रमा ब्यक्तिगत लगानी गरेर समाजसेवामा पनि उनको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ । मन्दिर , पुल , बाटो , आर्यघाट तथा आराम गृह आदि निर्माण गरेर झापा तथा शान्तिपुर इलाममा लोकप्रिय छन् ढुंगाना ।तत्कालीन शान्तिपुर गाउँ पञ्चायतको अन्तिम निर्वाचित प्रधानपञ्चसमेत भएका ढुंगाना जीवनको उत्तरार्धमा बिर्तामोड २ स्थित निजी जमिनमा विभिन्न रुख बिरुवा हुर्काएर पर्यावरण जोगाउ अभियानमा लागेका छन् ।