झापा , जेठ १६ । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन भएको छ ।

गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका चालिसेको आज ७४ वर्षको उमेरमा निधन भएको हो ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा बिहान उनको निधन भएको सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले जानकारी दिए । उनी २०६६ असार १५ देखि २०६७ फागुन अन्तिमसम्म संस्थानको कार्यकारी अध्यक्ष रहेका थिए । यसैगरी, २०६२ असोज ८ देखि २०६२ पुस १२ सम्म र २०६४ जेठ ३० देखि २०६५ भदौ १६ गतेसम्म गोरखापत्र दैनिकको कायम मुकायम प्रधान सम्पादक भएका थिए ।
पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उनको पूरा नाम विजयकुमार चालिसे हो । बेलायतबाट पत्रकारितामा डिप्लोमा गरेका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गरेका छन् । वरिष्ठ साहित्यकार रमेश विकलका सुपुत्र विजय चालिसे बाल साहित्यमा सक्रिय एक समर्पित स्रष्टा थिए ।
वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिएका चालिसे लामो समयदेखि कथाहरू, उपन्यासहरू र नाटकहरूमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर लेखन गर्दै आएका थिए ।