झापा, जेठ १७ । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

एसियन मार्ग निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाएको हो । काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा त्यहाँ पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनले बैकल्पिक मार्गबाट यातायात सुचारु गराउने पहल भइरहेको जानकारी दिए ।

त्यस्तै धुलाबारीनजिक कल्भर्टमा पनि समस्या भएको छ । त्यहाँ जेसीबीले माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको पौडेलले जानकारी दिए । त्यस्तै बुट्टावारी चारआली सडकखण्डमा पनि डाइभर्सन बगाएको जनाइएको छ ।