झापा,जेठ १७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनाव जितेर देशमा शासन गर्न चुनौती दिएका छन् ।

विदुरमा शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीले अनावश्यक रुपमा संविधान विरोधी गतिविधि गरिरहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन चुनौती दिए। माग र विरोधका कार्यक्रम गर्ने बहानामा राजावादीहरुले जनतालाई उक्साइरहेको प्रचण्डको दाबी छ। उनले यो व्यवस्थालाई आत्मसात गर्न नसक्ने शक्तिहरुले संविधान विरोधी गतिविधि गरिरहेको आरोप लगाए । उनले सरकार र सरकारमा सहभागी दलहरूको कारण राजावादीका नाममा अनेक गतिविधि हुन थालेको उल्लेख गरे।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने आफ्नो दलको बटमलाइन रहेको बताउँदै प्रचण्डले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । नेपालमा अरु मन्त्रीहरूसमेत आफूलाई आरोप लाग्दा नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गरेको उदाहरण दिँदै अध्यक्ष प्रचण्डले गृहमन्त्रीले राजीनामा नदिएसम्म अन्य विषय अगाडि बढ्न नसक्ने बताए ।
अध्यक्ष ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताए । अनेक गतिविधिका कारण गणतन्त्रलाई समस्यामा पार्न खोजिएको र त्यो जुनसुकैले गरेपनि दिवास्वप्न मात्रै भएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्