झापा,जेठ १७ । मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड यतिबेला अवरुद्ध बनेका छन् । इलामको माई नगरपालिका–७ मा महमाई–इलाम–लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । अहिले त्यहाँ बाटो एकतर्फी सञ्चालनमा रहेको छ ।
त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । सोही गाउँपालिकामा लेउदी खोलाले १०० मिटर कटान गर्दा कोशी लोकमार्ग अवरुद्ध भएको छ ।
साँगुरीगढी गाउँपालिका–५ डाँडाँबजार , लुम्फाजुङ, कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ । यसले रवी–राँके सडक अवरुद्ध बनेको प्रहरीको भनाई छ । धनकुटाकै चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।
उता सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराह क्षेत्र सडक अवरुद्ध ५ । यस्तै उदयपुरमा बेलका नगरपालिका–८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झरेको छ । यसले मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध छ ।