झापा, जेठ १८ । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन्।

उनलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो।

बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार रहेका थिए। बैंकको रकम हिनामिना प्रकरणमा रायलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।

२०६० सालमा खुलेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय ०७६ देखि ०७९सम्म सिईओका रुपमा कार्यरत थिए। उनी यसबीचमा पटक पटक सञ्चालक समितिको अध्यक्ष रहेर काम गरेका थिए। रायलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

सल्यानका राय पछिल्लो समय बाँकेका स्थायी बासिन्दा हुन्। सीआईबीका प्रमुख खापुङका अनुसार यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरू समेत अनुसन्धानको दायरामा परेका छन्। उक्त प्रकरणमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाहसमेत अनुसन्धानको दायरामा तानिएका एआईजी खापुङले बताए।

बैंकमा हिनामिना भएको आरोप लागेपछि बैंकका सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गत पुस ५ मा छानविन समिति गठन भएको थियो। समितिले अनियमिततामा रायसहितका व्यक्तिले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने राय दिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्