झापा, जेठ १८ । भारतको सिक्किममा गत शुक्रवारदेखि भइरहेको लगातार भारी वर्षा र ठाउँ ठाउँमा माटो भासिँदा करिव डेढ हजार पर्यटक फसेका छन् ।

भारी वर्षाका कारण उत्तर सिक्किमको सम्पर्क राज्यको बाँकी भूभागसंग टुटेको छ । अधिकांश सडक बन्द भएका कारण यातायात ठप्प छ । त्यहाँ फसेका पर्यटकलाई सुरक्षितरुपमा बाहिर निकाल्ने प्रयास भइरहेको छ । तर खराब मौसमका कारण गर्न सकिएको छैन । उत्तर सिक्किम मंगनका प्रहरी अधीक्षक सोनम डी भूटियाले लाचेनमा ११५ र लाचुंगमा १,३५० पर्यटक फसेको बताए ।
माटो भाँसिएका कारण त्यहाँबाट उद्धार गर्ने बाटो बन्द भएको छ । पर्यटकहरुलाई होटलमै बस्ने सल्लाह दिइएको छ । प्रहरीका अनुसार लगातार वर्षाका कारण टिस्टा नदीको जलस्तर खतराको संकेतनजिक पुगिसकेको छ ।
जलस्तर बढेका कारण मंगनलाई चुंगथांगसंग जोड्ने एउटा बेलीब्रिजमा क्षति पुगेको छ । हिजो करिव तीन घण्टाका लागि त्यस क्षेत्रमा रेड अलर्ट जारी गरी मानिसहरुलाई घरभित्रै रहन सल्लाह दिइएको थियो । सिक्किमको अधिकांश क्षत्रमा विद्युत आपूर्ति ठप्प छ ।
प्रशासनले हाललाई उत्तर सिक्किमका लागि परमिटमाथि रोक लगाएको छ । अर्कोतर्फ मुंसीथांग इलाकामा पर्यटकले भरिएको एउटा कार नदीबाट तल खस्दा त्यसमा सवार ११ मध्ये ९ जना वेपत्ता भएका छन् ।