झापा, जेठ १८ । झापाको मेचीनगरमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

जेठ १३ गते ट्रकको ठक्करबाट घाइते भएकी युवतीको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो । मेचीनगर नगरपालिका वडा न.१४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प. ५१५२ न.को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ख. ४७११ न.को ट्रकले साइडबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर –१० बस्ने २९ वर्षीय राहुल गुप्तालाई केहि नभएको तर सोही मोटरसाइकलमा पछाडी सवार बुद्धशान्ति ५ बस्ने २२ वर्षीया आकृति दनुवार गंभीर घाइते भएकी थिइन् । उनको कम्मरमाथि पेलिएको थियो । घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज दिउँसो ४;१० बजे उचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालक बिर्तामोड नगरपालिका वडा न.३ बस्ने ३४ वर्षीय बिजय लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।