बिर्तामोड, जेठ १९ । बिर्तामोडमा चोरीको श्रृंखला जारी रहेको छ ।

यसक्रममा शनिवार राति बिर्तामोड–१०, बिराटपोखरमा लाखौंको चोरी भएको छ। ध्रुवप्रसाद शिवाकोटीको घरबाट १७ तोला सुन र नगद तीन लाख रुपैयाँ चोरी भएको हो ।
शिवाकोटीको घर केही दिनदेखि सुनसान थियो। उनी राजावादी आन्दोलनमा सहभागी हुन जेठ १४ गते काठमाडौं गएका थिए भने उनकी श्रीमती जेठ २ गते अष्ट्रेलिया गएकी छन् । छिमेकी टिकामाया शिवाकोटीका अनुसार घरमा कोही नभएको र मुख्य ढोका ताल्चा लगाइएको अवस्थामा चोरले पूर्वतर्फको मुख्य ढोका फुटाएर चोरी गरेको हो । घरको बिच तलाको सुत्ने कोठाभित्र रहेको स्टिलको दराजको ताल्चा फुटाई दराजभित्र रहेको १७ तोला सुन र नगद रु ३ लाख गरी जम्मा ३४ लाख ९२ हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।
यसअघि गत बैशाख २६ गते बिर्तामोडमा दिनदहाडै १९ लाख बराबरको धनमाल चोरी भएको थियो ।बिर्तामोड वडा नं. ३ पुण्डरी टोल बस्ने किरण दाहालको अढाई तले घरबाट नगद र गरगहना चोरी भएको थियो ।
त्यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।