झापा, जेठ १९ । सर्वोच्च अदालतको आदेशबाट सहज बनेपछि पाथीभरामा केबलकार निर्माण कार्य पुनः शुरु भएको छ ।

शुक्रवार बिहानदेखि ताप्लेजुङ फुङलिङ –११ काफ्लेपाटीमा केबलकार निर्माण कार्य सुचारु भएको हो । निर्माणाधीन पाथीभरा देवी दर्शन केबुलकार आयोजनाको बटम स्टेशननजिक मजदुरहरुले केबलकारको पोल रहने ठाउँमा खाल्डो खन्ने कार्य शुरु गरेका हुन् । उनीहरुले लगातार चार दिनदेखि काम गरिरहेको जनाइएको छ ।
सर्वोच्चको आदेशपछि प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको बाटो खुलेको हो । पाथीभरामा बनाउन लागिएको केबलकारले वातावरण विनास गर्ने र लिम्बू जातिहरुको मुन्धुमी सभ्यता संकटमा पर्ने भन्दै त्यसलाई रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्माणको बाटो खुलेको हो ।
याम बहादुर लिम्बू समेत ८ जनाले पाथीभरा देवी दर्शन केवलकार प्रा.लि लगायतलाई विपक्षी कायम गरी २०८१ चैत ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिटमा यसअघि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले केबलकार निर्माण तत्कालका लागि अघि नबढाउनू भनी विपक्षीहरूका नाममा अल्पकालीन आदेश जारी गरेको थियो ।
सोही मुद्दामा गत बैशाख ३१ गते सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो । पाथीभरामा केबलकार निर्माणले मुन्धुमी संस्कृतिमाथि प्रहार गरेको भन्दै स्थानीय लिम्बू समुदाय आन्दोलित बनेका थिए । आन्दोलनका क्रमका प्रहरीले बल प्रयोग गर्दा कैयन घाइते समेत भएका थिए ।