लक्ष्मी उप्रेती

मेचीनगर । उमेर खाएर पाको उमेरमा घरजम गरेका उदाहरणहरु धेरै छन् । झापा मेचीनगर—६ काँकरभिट्टा निवासी संविधान सभा सदस्य ५३ वर्षीया उषा गुरुङ र मोरङ लेटाङ नगरपालिका—६ निवासी पूर्व युवा तथा खेलकुद मन्त्री ६१ वर्षीय डिगबहादुर लिम्बूले पनि पाको उमेरमा घरजम बसाएका छन् ।

१८ माघ २०८१ मा लेटाङ नगरपालिका—६ नम्बर वडा कार्यालयमा विवाह दर्ता गरी दुवैले विवाहलाई औपचारिक रूपमा पूर्णता दिएको नेतृ गुरुङले जानकारी दिइन् । उनले सामाजिक सञ्जालमा समेत जोडीको फोटो पोस्ट गरेकी छन् । गुरूङ २०६४ र २०७० को संविधान सभाको सदस्य भएकी थिइन् ।

पाको उमेरमा घरजम गर्ने यी जोडी त प्रतिनिधि पात्र मात्र हुन् । साहित्यकार कृष्ण धरावासीले पनि पाको उमेरमा आएर मञ्जु विमलीसँग दोस्रो विवाह गरेका थिए । काँग्रेस नेता बलबहादुर केसीको पनि पाको उमेरमा बिहे भएको हो । उनले राजनीतिमा सक्रिय रिना केसीसँग २०५९ सालमा विवाह गरेका हुन् । लामो समयको प्रेम सम्बन्धपछि उनीहरू एक भएका हुन् । रिना काँग्रेसको भगिनी संगठन नेपाल महिला संघको केन्द्रीय नेतृ हुन् ।

हुन त धेरैको पहिलो विवाह रहरको विवाह भएपनि दोस्रो विवाहलाई आवश्यकताको रुपमा लिने गरिन्छ । नेपालका थुप्रै नेताहरुले मात्र नभएर सेलिब्रेटीहरु समेत पाको उमेरमा विवाह बन्धनमा बाँधिएका छन् ।

नेतृ गुरुङको पहिलो विवाह करिब १५÷१६ वर्षको उमेरमा भएको थियो । विविध कारणले पहिलो विवाह सफल नभएपछि उनले पाको उमेरमा दोस्रो विवाह गर्नु आवश्यकता र बाध्यता भएको प्रतिक्रिया दिइन् । नेपाली काँग्रेस महासमिति सदस्य समेत रहेकी समाजसेवा र होटल व्यवसायमा सक्रिय गुरुङले आफ्नो साथमा छोरा, बुहारी र नाति बस्दै आएको बताइन् । त्यसपछि उनले विगत उप्काउन चाहिनन् ।

मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेस मोरङका सभापति पूर्व मन्त्री लिम्बूकी श्रीमती गंगामायाको २०८० पुसमा निधन भएको थियो । उनीहरूका १ छोरी र १ छोरा छन्

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा काँग्रेस नेता लिम्बूलाई राष्ट्रपति रामचन्द्र पौडेलले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

विवाहपूर्व दुई नेताबीच लामो समयसम्म विवाहकै विषयमा छलफल भएको थियो । तर, दुवै परिपक्व भएकै कारण निर्णयमा पुगेको बताइएको छ । ‘हाम्रो यो विवाह ‘जनवादी विवाह’ जस्तै भयो’ नेतृ गुरुङले भनिन्— ‘न जन्ती न घर गाउँले, न पाटी न भोज न सिन्दुर न पोते एक पैसा खर्च नगरी हामीले वडा कार्यालयमा गएर विवाह दर्ता गरी यो यात्रा अघि बढाएका हौँ ।’

२०८० वैशाखमा युवा तथा खेलकुद मन्त्री बनेका लिम्बू अहिले एउटा विषयमा विद्यावारिधी ‘पीएचडी’ को तयारीमा छन् । उनै लिम्बूको स्थायी बसोबास रहेको मोरङको लेटाङ घरमै रहेको नेतृ गुरुङले बताइन् । आवश्यकता अनुसार उनको माइती घर झापाको मेचीनगर पनि आउने उनले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्