झापा, जेठ १९ । बुद्धि , ज्ञान र दिब्य शक्तिको प्रतिनिधित्व गर्ने देवी गायत्रीको अवतारलाई पवित्र हिन्दू पर्वका रुपमा गायत्री जयन्ती मनाइने गरिन्छ । यो वर्ष गायत्री जयन्ती जेठ २२ गते परेको छ । परम्परा अनुसार गायत्री जयन्तीलाई वेद व्यास जयन्तीको रुपमा पनि मनाइने गरिएको छ ।


वेदकी आमा र आध्यात्मिक प्रकाशको सर्बाेच्च स्रोत मानिने गायत्री मातालाई गहिरो सम्मान गरिन्छ । हिन्दू धर्ममा एक पबित्र र शक्तिशाली देवीको रुपमा माता गायत्रीलाई लिने गरिन्छ । भक्तजनले माता गायत्रीको भजन र मन्त्र जप गरेर मातालाई स्मरण गर्ने गरेका छन् । यो वर्ष बिर्तामोडवासीले गायत्री माताकै मन्दिरमा बसेर माताको स्मरण गर्न पाउने भएका छन् ।

पूर्वमै पहिलो पटक बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण गर्दै सञ्चालनमा ल्याएसंगै झापावासीले माताको स्मरणमा मन्दिरमा बसेर पूजाआजा गर्दै मन्त्रोच्चारण गर्न पाउने भएका हुन् ।

गायत्री माता मन्दिर सेवा समितिले जेठ २२ गते मन्दिरमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै सन्ध्या आरती समेत गर्ने कार्यक्रम तय गरेका छन्।

बिर्तामोडका युवा व्यवसायी रोनक वंशलको अगुवाइमा बिर्तामोड ५ स्थित अग्रसेन भवनको समिपमा माता गायत्रीको दिब्य मन्दिर निर्माण भएको छ । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएसंगै यो वर्ष गायत्री जयन्ती मन्दिर परिसरमा मनाउन लागिएको गायत्री माता मन्दिर सेवा समितिका अध्यक्ष विवेक अग्रवालले जानकारी दिए ।

उनका अनुसार जेठ २२ गते विहान ९ बजे मन्दिर परिसरबाट निशान यात्रा निकाल्ने र बिर्तामोड परिक्रमा गर्दै पुनः मन्दिर परिसर पुग्ने कार्यक्रम छ । त्यसपश्चात् मन्दिरमा माताको विशेष पूजा आरधना गरिने र साँझ ७ बजेबाट सन्ध्याकालीन भजन कीर्तनको आयोजना गर्दै महाप्रसाद बितरण गरिने भएको हो ।

माताको भजन कीर्तनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त भजन गायकको उपस्थिति रहने जनाइएको छ ।

झापामा नै पहिलो पटक माता गायत्री देवीको मन्दिर निर्माणसंगै गायत्री जयन्त्री मनाउने कार्यक्रम रहेकाले आम श्रद्धालु भक्तजनलाई माताको जयन्तीमा सहभागी बन्दै पुण्यआर्जन गर्न सेवा समितिले आग्रह गरेको छ ।

यस्तो छ देवीको महिमा

गायत्री देवीलाई पाँच मुख र दश हात भएकी तेजश्वी देवताका रुपमा चित्रण गरिएको छ । जुन प्रकृतिका पाँच तत्वहरु र दिब्य ज्ञानका प्रतिक हुन् । उनलाई भगवान ब्रम्हाको शक्ति मानिन्छ । जुन सृष्टि र ज्ञानको प्रसारका लागि जिम्मेवार हुन्छ । ऋग वेद (३.६२.१०) मा रहेको गायत्री मन्त्र सबैभन्दा शक्तिशाली वैदिक मन्त्र मध्ये एक हो । गायत्री मन्त्र जप गर्नाले वुद्धि जागृत हुने,मानसिक स्पष्टता आउने र अज्ञानता हट्ने विश्वास छ ।

गायत्री जयन्तीमा ऋषि विश्वमित्रले पहिलो पटक मानवतालाई गायत्री मन्त्र प्रकट गरेका थिए भन्ने जनविश्वास रहेको छ । अतः गायत्री माताका भक्तजनले यो दिनलाई धार्मिक जीवनका लागि ज्ञान र दिब्य आशीर्वाद प्राप्त गर्न गायत्री जयन्तीका रुपमा मनाउने गरेका छन् । खासगरी यो दिन गायत्री माताको आशीर्वाद प्राप्त गर्न १०८ पटक गायत्री माताको मन्त्र जप गर्दै गायत्री यज्ञ (अग्नि अनुष्ठान) समेत गरिन्छ ।

यो दिन धेरै भक्तजनले आध्यात्मिक उन्नतिका लागि उपवास(ब्रत) राख्छन् र गायत्री देवीको ध्यान गर्छन् । गहिरो आध्यात्मिक अन्तरदृष्टि प्राप्त गर्न ऋगवेद र उपनिषदहरु पढ्ने गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्