झापा, जेठ १९ । राजसंस्था पुनस्र्थापनाका लागि राजेन्द्र लिङ्देन , कमल थापाहरु राजधानीमा आन्दोलित भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह भने झापामा चुपचाप बसेका छन् ।

जेठ ११ गतेदेखि उनी झापामा छन् । दमक नगरपालिका –९ स्थित हिमालय महालक्ष्मी टि इस्टेटमा रहेको मिनी दरबारभित्र पूर्वराजा शाह बसेका छन् । एक साताभन्दा बढी समय बितिसक्दा केही व्यक्ति र परिवारका सदस्य बाहेक उनले अरुसंग भेटघाट गरेका छैनन् । राजावादीहरुको जारी आन्दोलनका बारेमा पूर्वराजाको भूमिका कस्तो रहन्छ भनेर खोजी भइरहँदा त्यसप्रति उनले ‘सेक्रेसी’ कायम गरेका छन् । गुमनाम जस्तै बसेका शाहले भेट्न पुगेका धेरैलाई फर्काइदिएका छन् ।
दमकमा आएर बसेदेखि नै पूर्वराजा शाहलाई भेट्न दिनहुँ समर्थकहरु पुग्ने गरेका छन् । तर, उनको स्वकीय सचिवले भेटघाट सबैसंग बन्द गरिएको भन्दै फर्काइदिने गरेको छ । राजावादी र हिन्दुवादी संगठनहरु भेट्न नपाएपछि चिया बगानको गेटमा चौकीदारलाई बिन्ती पत्र छोडेर जाने गरेको बुझिएको छ । एकजना हिन्दु अतिवादी नेता शाहलाई भेट्न दुई पटक गएकोमा भेट गर्न नपाई त्यतिकै फर्किएका छन् । झापाका मात्र नभएर अरु जिल्लाबाट समेत समर्थकहरु भेट्न आएपनि भेट्न नपाउँदा उनीहरु निराश भएर फर्किने गरेको बताइएको छ । जेठ ११ गते काठमाडौंदेखि पूर्वराजा शाह , छोरी प्रेरणा राज्यलक्ष्मी शाह, भतिजी शिताष्मा शाहलगायत ५ जना आएका थिए । यसबीचमा शाहकी छोरी प्रेरणा ,भतिजी शिताष्मा भारतको सिलिगुडी घुम्न गएको बुझिएको छ ।
त्यस्तै पूर्वराजा शाहका ज्वाइँ राजबहादुर सिंह (प्रेरणा शाहको श्रीमान) आज हिमालय महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबार आएका थिए । राजबहादुर सिंहको टोली भेटघाट गरी फर्केको बताइएको छ।
यसैबीच राप्रपाका केन्द्रीय उपाध्यक्ष उद्धब पौडेलसहितको टोलीले आज पूर्वराजासँग भेटघाट गरेको बताइएको छ । सो टोली भेटघाट गरी आजै मिनी दरबारबाट प्रस्थान गरेको स्रोतले जनाएको छ ।
राजधानीमा राजावादीहरूले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा हिजो राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका थिए । निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि थापासँगै अन्य प्रदर्शनकारीहरू पनि पक्राउ परेका थिए ।
राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ। आफूहरूको मुद्दा स्थापित नभएसम्म आन्दोलन नरोकिने उनीहरुले जनाएका छन्। पूर्वराजाको मौनता र दुर्गा प्रसाई हिरासतमा रहनुले राजावादीहरुको आन्दोलनमा ऊर्जा नभरिएको आन्दोलनकारीहरु बताउँछन् ।