झापा, जेठ २० । झापामा फेरि अर्को जंगली हात्ती मरेको छ । बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको दुई सातापछि झापामा अर्को हात्ती मरेको हो ।


गएराति कमल गाउँपालिका वडा नम्बर–३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर जंगली हात्ती मरेको हो । जंगली हात्तीले बिजुलीको फलामको पोलमा धकेल्दा हाईटेन्सन तारमा पर्न गई हात्तीलाई करेन्ट लागेको थियो । सुँड र एउटा दारा जली हात्ती घटनास्थलमै मरेको प्रहरीले जनाएको छ ।


प्रहरी चौकी केर्खाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । कानुनी प्रकृयाको लागि डिभिजन वन कार्यालय झापासँग समन्वय भइरहेको र घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली आइसकेको प्रहरीले जनाएको छ ।
यसअघि गत जेठ ७ गते झापा बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा रैथाने जंगली हात्ती मृत फेला परेको थियो ।
योसंगै यस आर्थिक वर्षमा झापामा तीनवटा जंगली हात्ती मरेको छ । गत फागुन २९ गते कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अबस्थामा फेला परेको थियो ।

त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ । गत आर्थिक वर्षमा जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्