खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए
झापा, जेठ २० । श्रीमतीलाई विष खुवाई मार्न खोज्ने दमकका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका वडा नं. २ घर भई हाल दमक वडा नं.१ सुम्निमा टोलमा डेरा गरी बस्ने २५ वर्षीय दिलिपकुमार मरिक डोम रहेका छन् ।
गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेनु मरिकलाई बिष सेवन गराई ज्यान मार्न खोजेका थिए ।उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए । यसअघि पनि श्रीमानले आफूलाई आगो लगाई मार्न खोजेको रेनुले बयान दिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् ।
घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले आइतवार कल्याणपुरबाट पक्राउ गरेको हो । उनलाई हिजो इलाका प्रहरी कार्यालय दमकमा ल्याई बुझाइएको छ ।
झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।