झापा,जेठ २० । संघीय सरकारले दिने विभिन्न अनुदानको रकम कोशी प्रदेशमा निरन्तर घट्दै गएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरणमा कोशी प्रदेशलाई चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष ८ करोड रुपैयाँ कम दिइने अनुमान गरिएको छ ।
कोशी प्रदेशलाई चालु आर्थिक वर्षका लागि २९ अर्ब ८ करोड ५२ लाख बजेट विनियोजन गरेको थियो । तर, वैशाख मसान्तसम्ममा १९ अर्ब ३७ करोड ७९ लाखमात्रै प्राप्त भएको छ । यसबिचमा राजस्व बाँडफाँट बाहेकको वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकको रकममा उल्लेख्य कटौती भएको छ ।
आगामी आर्थिक वर्षका लागि भने संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान (पुँजीगत प्रकृति) गरी २९ अर्ब ६६ लाख मात्रै विनियोजन भएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा संघीय सरकारले समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र प्रदेशले पाउने राजस्व गरी २८ अर्ब २ करोड ७५ लाख ३३ हजार प्राप्त भयो ।
संघीय सरकारबाट समानीकरण र सशर्त अनुदान १४ अर्ब ६३ करोड ५३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरेको थियो । तर, ११ अर्ब ५६ करोड ८७ लाख २७ हजार अर्थात् ७९.०५ प्रतिशत) मात्रै प्राप्त भएको थियो ।
आर्थिक वर्ष २०७९÷८० मा ३० अर्ब ७५ करोड ७७ लाख ८२ लाख प्राप्त भएको थियो भने आर्थिक वर्ष २०७८-७९ मा २९ अर्ब ९६ करोड ६४ लाख ३६ हजार प्राप्त भएको थियो ।