झापा,जेठ २० । सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो ।
बाटो अवरुद्ध हुँदा भेडेटारदेखि डाँडाबजारसम्म सवारी साधन चल्न सकेको छैन ।
शुक्रबार राति परेको भारी वर्षापछि साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको थियो । जसका कारण उक्त सडक शनिबार बिहानदेखि नै अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार दिउँसो देखि सञ्चालनमा आएको सो सडकखण्ड पुनः अवरुद्ध भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
‘भेडेटार–रवि–राँके सडकअन्तर्गत डाँडाबजार नजिक लुम्फाजुङ्गमा ठुलो पहिरो झरेर आज दिनभर सफा गर्न समय लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न अध्यक्षले अनुरोध गरेका छन् ।
ठुलो पहिरो खसेका कारण बाटो खुल्न समय लाग्ने उनको भनाइ छ ।सडकको चौडाहा फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेको छ । वर्षा हुने वित्तीकै पहिरो खस्ने र बाटो अवरुद्ध हुने गर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्