झापा, जेठ २० । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाले निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ।

झापा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारी एवं कर्मचारीका आश्रित परिवारलाई लक्षित गरी आन्तरिक कल्याणकारी कार्यअन्तर्गत उक्त गणले निःशुल्क आँखा जाँच शिविर संचालन गरेको थियो ।
छठ समाज सेवा समिति बिर्तामोड र मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा आज भद्रपुर नगरपालिका–८ शान्तिचोकस्थित गण परिसरमा शिविर संचालन गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रममा छठ समाज सेवा समितिकी अध्यक्ष संगिता रौनियार, मेची आँखा अस्पतालका ओपीडी इन्चार्ज सन्तोषलाल कर्णसहित अन्य पदाधिकारी तथा चिकित्सकहरुको उपस्थिति रहेको थियो ।
उक्त शिविरबाट कर्मचारी २८० र आश्रित परिवार १८ जना गरी कुल २ सय ९८ जना सेवाग्राहीलाई स्वास्थ्य परीक्षणसहित चस्मालगायत औषधी बितरण गरिएको थियो ।