झापा, जेठ २१ । झापा जिल्लाको मनसुन विपद् पूर्वतयारीको लागि बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।


विपद्का घटनामा विशेष गरी बाढीका वेला प्रभावकारी खोज तथा उद्धारका लागि विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो ।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार बाढी, डुबान तथा कटानले गर्नसक्ने बढ्दो जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि मेचीनगर नगरपालिकाको वडा नं. १३ मा अवस्थित निचाझोडा पोखरीमा संयुक्त कृत्रिम अभ्यास गरिएको अरिदमन गण चारआलीले जनाएको छ ।

अरिदमन गण चारआलीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी , सशस्त्र प्रहरी तथा जिल्ला रेडक्रसद्वारा संयुक्तरुपमास्थानिय स्रोत र साधनको प्रयोगबाट तयार गरिएको ईम्प्रोभाईज फ्लोटिङ्ग डिभाईसको प्रयोग गरी बाढी तथा डुवानको समयमा आफू सुरक्षित रहि अरुलाई पनि सुरक्षित बनाउने तरिका, डुबानमा परेका व्यक्तिहरुको रबरको डुंगा प्रयोग गरी खोज तथा उद्दार, पानी मुनिबाट उद्धार, पानी माथि डोरी प्रयोग गरी उद्धार तथा घाइते बिरामीहरुलाई प्राथमिक उपचार तथा राहत वितरणको कृत्रिम अभ्यास गरिएको थियो ।

झापा जिल्लामा परेको पानीले भन्दा इलाम जिल्लामा परेको पानीले बढी क्षति पु¥याउने हुँदा बाढी, डुबान तथा कटानले गर्नसक्ने बढ्दो जनधनको क्षतिलाई न्यूनीकरण गर्न सो अभ्यास गरिएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नं. २१ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जन, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू , सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी , राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उपसचिव कुलचन्द्र नेपाल , बिभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्ष, विपद् प्रतिकार्य सम्पर्क अधिकृतहरु, विपद् प्रतिकार्यसंग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, राष्ट्रिय सेवादलमा आवद्ध एनसीसी क्याडेट तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।


अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातको स्वागत मन्तब्यसहित शुरुवात भएको कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले झापा जिल्लाको विभिन्न स्थानमा भारी वर्षाको कारण बाढी, पहिरो, डुबान, कटान जस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुका लागि तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा गर्न जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ–आफ्नो तयारी गरि विपद् परेको खण्डमा तुरुन्त परिचालन भई जनधनको क्षति न्यूनीकरण गर्न निर्देशन दिएका छन् ।

साथै अभ्यास मनसुन–५ अन्तर्गत तेस्रो चरणमा जेठ २३ गतेदेखि २९ गतेसम्म डुबान प्रभावित पालिकाहरुमा स्थलगत तालिम अभ्यास संचालन गरिने भएको छ । उक्त कार्यक्रमको दौरान स्थानीयहरुलाई सहभागी गराई विपद् प्रतिकार्य सम्बन्धी कक्षा र डेमोस्ट्रेशन संचालन गरिने अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्