झापा, जेठ २२ । आरिफ शेखको अर्धशतकमा नेपालले विश्वकप क्रिकेट लिग–२ मा गएराति नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ ।

आरिफले खेलको एकमात्र अर्धशतक बनाएपछि नेपालले स्कटल्यान्डमा नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै जित निकालेको हो । आरिफले ७८ रन बनाएपछि नेपालले डन्डीको फोर्थहिलमा २ सय २६ रनको लक्ष्य ४७.१ ओभरमै पूरा ग¥यो ।
आरिफले ४० औं ओभरमा भिभिएन किङ्माको बलमा प्वाइन्टमाथि छक्का प्रहार गर्दै ८१ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।आरिफले ५९ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै आफ्नो आठौं अर्धशतक बनाएका हुन् । साथै उनको यो उच्च स्कोर पनि हो । यसअघि ६६ रन उनको व्यक्तिगत उच्च स्कोर थियो । आरिफले दीपेन्द्रसिंह ऐरीसँग ९२ बलमा ८९ रनको ठोस साझेदारी गरे । दीपेन्द्रले ५१ बल खेली ३ चौका प्रहार गरी अविजित ३८ रन बनाए । विजयी छक्का प्रहार गरेका गुलशन झा ४ बलमा ११ रन बनाई नटआउट रहे ।
आरिफले यसअघि कप्तान रोहित पौडेलसँग चौथो विकेटमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । रोहित ३९ बल खेली १ चौका प्रहार गरी २३ रनमा रनआउट भए । आरिफका दाइ आसिफ शेख र कुशल भूर्तेलले यसअघि ३२ रन जोडेर नेपाललाई मध्यम सुरुवात दिलाएका थिए । सातौं ओभरमा पाउल भान मिकेरेनले आसिफलाई बोल्ड गरी नेदरल्यान्ड्सलाई पहिलो सफलता दिलाएका थिए । आसिफले २२ बल खेली ३ चौका प्रहार गरी १९ रन बनाए ।
कुशल र भीम सार्कीले दोस्रो विकेटका लागि ३१ रन जोडे । ५ रनको अन्तरमा दुवै ब्याट्सम्यान आउट भएपछि नेपाल संकटमा परेको थियो । यसअघिका १३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा केवल २ विकेट लिएका ब्याटिङ अलराउन्डर माइकल लेभिटले कुशल र भीम दुवैलाई आउट गरेका थिए । भीमले २६ बल खेली १ चौका प्रहार गरी ११ रन बनाए । इन साइड एज लागि बोल्ड भएका कुशलले ४२ बल खेली ५ चौकासहित २५ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २ सय २५ रनमा अलआउट भएको थियो । प्रमुख बलरहरू करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशीले उत्कृष्ट बलिङ गरेपछि लिग–२ को शीर्षस्थ टोली नेदरल्यान्ड्सलाई नेपालले ठूलो स्कोर बनाउनबाट रोकेको थियो ।
सोमपालले ३ विकेट लिए भने करण, सन्दीप र ललितले २–२ विकेट लिए । खेलको दोस्रो ओभर एवं आफ्नो पहिलो ओभरको पहिलो बलमै सोमपालले लेभिटलाई १ रनमा आउट गरे । सोमपालका ओपनिङ जोडी करणले पाँचौं ओभरमा म्याक्स ओ डाउडलाई ४ रनमा बोल्ड गरेपछि नेपालले सुरुवातदेखि नै खेल नियन्त्रणमा राखेको थियो ।
यसअघि नेपालले सोमबार आफ्नो पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको अविश्वसनीय विजय हात पारेको थियो । लिग–२ को यस यात्रामा १४ खेलमा नेपालको केवल यो चौथो विजय हो । नेपाल १० अंकका साथ सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ र टोली शीर्ष स्थानमा रहेको अमेरिकाभन्दा २ अंकले मात्र पछाडि छ । आठ राष्ट्र सहभागी लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्ने छन् ।