झापा, जेठ २२ । झापाको बिर्तामोडमा चोरीको घटनाले लगातार प्रश्रय पाउँदै गएको छ । हिजो दिनदहाडै बिर्तामोड १ मा फेरि चोरी भएको हो । करिव एक महिनाको अवधिमा बिर्तामोडको चार ठाउँबाट एक करोडभन्दा बढीको धनमाल चोरी भइसकेको छ ।


हिजो बिर्तामोड वडा न.१ हनुमान टोल बस्ने विवेक पाण्डे र पुष्कर पाण्डेको घरबाट लाखौंको धनमाल चोरी भएको हो । हनुमान टोल बस्ने विवेक पाण्डे र पुष्कर पाण्डेको–३ तले घरमा दोस्रो र तेस्रो तलामा दाजुभाई बस्ने गरेकोमा दिउँसो घरमा कोही नभएको अवस्थामा पहिलो तलाको सिँडीमुनि लुकाई राकेको चाबी लगी दुबै तलाबाट चोरी भएको हो । मुल ढोकाको ताला खोली घरभित्र रहेको विवेक पाण्डेको ६ तोला बराबरको सुनको गरगहना र पुष्कर पाण्डेको ६ तोला सुनको गरगहना र नगद रु ५० हजार गरी अन्दाजी २२ लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनसाथ हुनासाथ डीएसपी बिजय श्रेष्ठको कमाण्डमा टोली खटिएर चोरी गर्ने ब्यक्तिको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जनाइएको छ ।

यसअघि जेठ १७ गते राति बिर्तामोड–१०, बिराटपोखरमा लाखौंको चोरी भएको थियो । ध्रुवप्रसाद शिवाकोटीको घरबाट १७ तोला सुन र नगद तीन लाख रुपैयाँ चोरी भएको हो । घरमा कोही नभएको मौकामा मुख्य ढोकाको ताल्चा फुटाई दराजभित्र रहेको १७ तोला सुन र नगद रु ३ लाख गरी जम्मा ३४ लाख ९२ हजार बराबरको चोरी भएको थियो ।

यसअघि गत बैशाख २६ गते बिर्तामोडमा दिनदहाडै १९ लाख बराबरको धनमाल चोरी भएको थियो ।बिर्तामोड वडा नं. ३ पुण्डरी टोल बस्ने किरण दाहालको अढाई तले घरबाट नगद र गरगहना चोरी भएको थियो ।

त्यसअघि बैशाख १५ गते दिनदहाडै ढोका फोरी बिर्तामोड नगरपालिका वडा न.४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरबाट २९ लाख बराबरको धनमाल चोरी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्