झापा,जेठ २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाइ गरेपछि नेपाली विद्यार्थीमा अन्योल देखिएको छ ।

उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने तयारीमा रहेका नेपाली विद्यार्थीमा अन्योल देखिएको हो ।
अमेरिका नेपाली विद्यार्थीको रोजाइमा पर्ने उत्कृष्ट ५ मुलुकमध्ये एक हो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला वर्षमा अमेरिकासहित जापान, क्यानडा, अस्ट्रेलिया, दक्षिण कोरिया र बेलायतमा विद्यार्थीको आकर्षण बढी छ । ट्रम्प प्रशासनले गैरआवासीय नागरिकलाई मात्र होइन, विद्यार्थी भिसामा पनि कडाइ गर्ने निर्णय गरेको छ ।
अमेरिकी सरकारले पछिल्लो पटक आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश दिएको छ । समय पाएका विद्यार्थीको अन्तर्वार्ता नरोकिए पनि नयाँ विद्यार्थीलाई समय दिन रोकिएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले कूटनीतिक नियोगहरूलाई जारी गरेको सूचनामा थप निर्देशन नआएसम्म विद्यार्थी भिसाका लागि अन्तर्वार्ताको समय नदिन आदेश छ । अन्तर्वार्ताको समय दिइसकेको हकमा भने निरन्तरता दिन सक्ने भनिएको छ । अमेरिका पढ्न जाने विद्यार्थीलाई सम्बन्धित मुलुकको दूतावासले भिसा स्वीकृतिका लागि अन्तर्वार्ता सञ्चालन गर्ने अभ्यास हुँदै आएको छ ।
अमेरिकी विदेश मन्त्रालयको आदेशपछि नेपाली विद्यार्थीले अमेरिका जाने योजना रद्द गर्दै अन्य मुलुकलाई गन्तव्य बनाउने वा नेपालमै उच्च शिक्षा पढ्ने योजना बनाउन थालेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पूर्वअध्यक्ष विष्णुहरि पाण्डेको भनाइ छ । ‘यो नेपालका विश्वविद्यालय र कलेजलाई मौका पनि हो,’ उनले भने ।
गैरआवासीय नगारिकलाई कडाइ गरेदेखि नै नेपाली विद्यार्थीले अन्तर्वार्ताका लागि समय पाए पनि कतिपय सहभागी नभएको पाण्डे बताउँछन् । ‘भिसा कडाइले अहिले अमेरिका जान चाहनेको संख्या शून्यप्रायः नै छ । ट्रम्प नेतृत्वमा आएदेखि नै विद्यार्थी हच्किएका थिए,’ उनले भने, ‘अहिले त अन्तर्वार्ताको मिति नै रोकिएको छ ।’
आईटी, इन्जिनियरिङका विभिन्न विधा र रिसर्च सेन्टरमा पढ्न विदेश जाने नेपाली विद्यार्थीको संख्या उच्च छ । चालु आर्थिक वर्षमा अमेरिकाका लागि ८ हजार विद्यार्थीले वैदेशिक अनुमति पत्र एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ । २०८०-८१ मा १२ हजार, २०७९-८० मा साढे ६ हजार, २०७८-७९ मा ८ हजार विद्यार्थीले एनओसी लिएका थिए ।
शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका सहसचिव वैकुण्ठ अर्यालले अहिले विद्यार्थी भर्नाका बेला नभएले खासै प्रभाव नदेखिए पनि आगामी दिनमा असर पर्न सक्ने बताए । कक्षा १२ को नतिजा प्रकाशित भएपछि भदौदेखि मंसिरसम्म एनओसी लिने विद्यार्थीको चाप बढी हुने गर्छ । ‘प्रक्रिया पूरा गरेर आवेदन आएको एनओसी जारी भइरहेको छ । अमेरिकाका लागि जापान, कोरियाजस्तो अत्यधिक चाप पनि होइन,’ उनले भने, ‘अहिले भर्नाको बेलाको सिजन पनि नभएकाले ठूलो प्रभाव देखिएको छैन ।’
कक्षा १२ को परीक्षा सकेर अमेरिका जाने तयारीमा जुटेका विद्यार्थीमा भने सबैभन्दा अन्योल देखिएको कन्सल्टेन्सी सञ्चालकहरू बताउँछन् । टोफल, आईईएलटीएस, पीटीईलगायत कक्षा लिएर विद्यार्थी अमेरिका जाने तयारी गर्छन् । तयारी गरे पनि आवेदन नै दिन नपाइने हो कि भन्ने अनिश्चितता देखिएको परामर्शदाताहरूको भनाइ छ ।