झापा,जेठ २२ । यस वर्षको मनसुनमा सबैभन्दा ठूलो विपद् डाइभर्सनमै आइपर्ने देखिएको छ ।

मनसुन सुरु हुनुअगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनमा समस्या शुरु भइसकेको छ । बर्खाको झरी पर्न थालेपछि समस्या अझ बढ्ने देखिएको हो । डाइभर्सनकै कारण लगातार सवारी दुर्घटना भइरहनुका साथै सवारी आवागमन अवरुद्ध हुने क्रम जारी छ ।

यतिखेर आफूहरुका लागि डाइभर्सन ठूलो टाउको दुखाई बनेको एक ट्राफिक प्रहरीले सुनाए । डाइभर्सन भत्किएर यातायात अवरुद्ध हुने , डाइभर्सनमै दुर्घटना भइरहने समस्याले सताएको ती ट्राफिक प्रहरीले बताए । दुई साताअघि जेठ १५ गते परेको पानीले झापामा करिव आधा दर्जन डाइभर्सन भत्किएको थियो । जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध बनेको थियो । काली खोला , काली झोडा, ढुकुरे , भालु खोला लगायतका ठाउँमा डाइभर्सन भत्किएको हो । केही घण्टाको अवरोधपछि डाइभर्सन मर्मत गरी यातायात सुचारु गरिएको थियो ।

त्यसो त डाइभर्सनमा लगातार सवारी दुर्घटना हुँदै आएको छ । जेठ १३ गते मेचीनगर नगरपालिका वडा न.१४ धाइजन चोकनजिक डाइभर्सनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको थियो ।

काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प. ५१५२ न.को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ख. ४७११ न.को ट्रकले साइडबाट ठक्कर दिएको थियो ।

त्यस्तै गत मंसिर ३० गते शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा भएको दुर्घटनामा मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको थियो ।

साँझ करिब ७ बजे मे ९ प ६२४ नम्बरको मोटरसाइकल डाइभर्सनमा रोकिराखेको को. २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडिको भागमा ठोक्किएको थियो। डाइभर्सनमा सामान्य दुर्घटना दिनहुँ भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले त्यसतर्फ भौतिक योजना मन्त्रालयको ध्यानाकर्षण गराइएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । ‘ यस वर्ष डाइभर्सनका कारण ठूलै जोखिम निम्तिन सक्छ’ उनले भने ,‘ डाइभर्सन भत्किएर आवतजावत बन्द भयो भने सबैखाले विपद् पीडितहरु प्रभावित बन्न सक्छन् । ’

एसियन हाइवेको ठेक्का लिएका निर्माण कम्पनीले डाइभर्सन हटाउने कार्य गरिरहेको छ । जेठभरिमा झापामा भएका ३० वटा डाइभर्सन हटाउन आफूहरुले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताए । पूर्वी खण्डको ठेक्का लिएको कालिका कन्स्ट्रक्सनका सुन्दर प्रसाईलाई पूर्व स्वीकृति नलिई जिल्ला नछाड्न आफूहरुले भनेको उनले जानकारी दिए । बढीभन्दा बढी डाइभर्सन हटाउने प्रयास गरिरहेका निर्माण कम्पनीका प्रसाईले बाँकी रहने डाइभर्सनमा पनि यातायात अवरोध हुन नदिने भनेर बताएको सहायक प्रजिअ प्रसाईले जानकारी दिए ।

केही दिनअघि डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको थियो ।

एशियाली विकास बैंकको सहयोगमा रु १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले बताए ।

हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माणमा विलम्ब नगर्न पटकपटक पत्राचार गरिरहँदा समेत निर्माण कम्पनीको प्रगति सन्तोषजनक देखिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्